धरान: गएको बर्ष मंसिरमा खेलकुद मन्त्रालय र नागरिक उड्यान प्राधिकारणले सुनसरी, धनकुटा, मोरङको पहाडी क्षेत्र समेटेर एयर स्पेश(हवाई खेलकुद रंगशाला) स्वीकृत गरेको थियो । यो रंगशालाको मुख्य केन्द्र धरान हो ।

धरानमा साहसिक खेल पर्यटनको प्याराग्लाइडिङको व्यवसायिक उडान र स्कुल पनि सञ्चालनमा छ । यस्तै,उदयपुरको बेलका नगरपालिकामा पनि बेसिक कोर्ष सञ्चालनमा छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ(नेफा)का महासचिव शैलेन्द्र रावतले विश्वमै हवाई खेलकुदको लागि रंगशाला उपलब्ध गराउने नेपाल मात्र पहिलो देश भएको बताए । शनिबार १ नं प्रदेशस्तरीय प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघको भेलालाई सम्बोधन गर्दै महासचिव रावतले यस्तो बताएका हुन् । उनका अनुसार व्यवसायिक उडानको लागि अन्यत्र देशमा आकाश(एयर स्पेश) दिइएको छ, तर खेलकुदको लागि भनेर दिइएको यही मात्र हो । ‘खेलकुद र व्यवसायिकताको लागि सरकारबाट नै आधिकारिता पाएको यही मात्र हो,’रावतले भने,‘मलाई जहाँसम्म जानकारीमा छ, सरकारले हवाई खेलकुदको लागि दिएको हवाई रंगशाला यही मात्र हो ।’

Nepha

प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङको लागि नेपालमा पोखरा प्रख्यात छ । तर, त्यहाँ व्यवसायिक उडानको लागि मात्र एयर स्पेश सरकारले दिएको छ । यो एयर स्पेश १२४ किलोमिटर सिलिण्डर रहेको छ । यो एयर स्पेश(हवाई रंगशाला) भने खेलकुदको लागि पनि हो । ‘व्यवसायिक उडान गर्ने पाइलटहरु खेलाडी पनि बन्छु भन्ने हो भने यही रंगशालामा आउनुपर्छ,’महासचिव रावतले भने,‘यहाँ अन्र्तराष्ट्रियस्तरको खेल, प्रतियोगिताहरु गर्न सकिन्छ ।’ सरकारबाट हवाई रंगशाला स्वीकृत पाएपछि धरान र उदयपुरको वोप्ताङमा प्याराग्लाइडिङको स्कुल पनि सञ्चालनमा आइसकेको छ । करिब ६ महिनाको अवधिमा धरानमा प्याराग्लाइडिङकै लागि ५ सय हाराहारीमा आन्तरिक पर्यटक भित्रिएको राउतको भनाई छ ।