उदयपुर : उदयपुर सिमेन्ट उद्योगले विद्युत् आपूर्तिमा समस्याका कारण लक्ष्यअनुसार सिमेन्ट उत्पादन गर्न नसकेको जनाएको छ ।

विद्युत् प्राधिकरणको लापरबाहीले विद्युत् भोल्टेज गडबढ भइ विद्युत् आपूर्ति बन्द हुँदा लक्ष्यअनुसार सिमेन्ट उत्पादन नभएको उद्योगको तर्क छ । उद्योगमा शुक्रबारयता पटक–पटक विद्युत् आपूर्तिमा समस्या आउँदा ७०० बोरा उत्पादन हुनुपर्नेमा ४०० बोरा सिमेन्टमात्र उत्पादन भएको जनाइएको छ ।
विद्युत् भोल्टेजको गडबढीले हाइटेन्सनमा रहेको सस्पेन्सन प्रि–हिटर फ्यान बिग्रिएपछि गएको जेठ २० गतेदेखि बन्द उद्योग गएको बुधबार दुई महिनापछि पुनः सन्चालनमा आएको थियो ।