भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपुर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरे खोला नजिकै दुर्घटना भएको छ ।

आज विहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते मध्ये ७ जना अस्पतालको बेड मा भर्ना भएको प्रहरीको भनाई छ । जसमा दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको छ । गम्भिर घाइते हुनेमा झापा घरभएका सहचालक अर्जुन लिम्वु, भोजपुर नगरपालिका ३ की २२ वर्षीय संगिता प्रधान रहेकी छिन् ।

उनीहरुको टाउको लगायत विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुमा भोजपुर नगरपालिका ३ वस्ने २४ वर्षीय मानिशा श्रेष्ठ, १७ वर्षीय अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र सोही वडाका ११ वर्षीय वालक विवेक श्रेष्ठ रहेको प्रहरीको भनाई छ ।

त्यस्तै इलाम घर भएका बसधनी ३५ वर्षीय अर्जुन लिम्वु, टेम्केमैयुङ गाउँपालिका ३ की ५५ वर्षीय गंगादेवी राई मोरङ घर भएकी २१ वर्षीय सविना गौतम भट्टराई र बस चालक इलाम घर भएका सन्तकुमार फागो सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटना पश्चात चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।