झापा: झापाको हल्दीवारी गाउँपालिका २ मा शनिवार राती भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

राती साँढे ७ बजेको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प ४१३७ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिदा दुर्घटना भएका थियो । मोटरसाइकलले स्थानीय ३५ बर्षीय कुमार भन्ने डम्बर बहादुर तामाङलाई ठक्कर दिएको थियो । ठक्करबाट तामाङ लगायत मोटरसाईकल चालक बिर्तामोड ३ का ४५ बर्षीय देवबन्धु उप्रेती र पछाडी सवार रहेका १३ बर्षीय राकेश ठाकुर घाईते भएका थिए ।

घटनास्थलमा प्रहरी चौकी हल्दीवारीबाट खटिएको प्रहरी टोलीले घाईते ३ जनालाई नै उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड पठाएको थियो । उपचारमा लगिएका मध्ये पैदलयात्री डम्बर बहादुरको उपचारको क्रममा आज बिहान साँढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।