धरान: आगामी भदौ पहिलो साता धरान नगरस्तरीय ‘पृथ्वी–लक्ष्मी राई खुल्ला ब्याटमिन्टन प्रतियोगिता’ हुने भएको छ ।

पृथ्वी–लक्ष्मी राई मेमोरियल ट्रष्ट धरानको आयोजना र सुनसरी जिल्ला ब्याटमिन्टन संघको प्राविधिक सहयोगमा प्रतियोगिता भदौ ६ र ७ गते हुने भएको हो । आइतबार आयोजक संस्थाले पत्रकार सम्मेलन गदै धरान–१३ स्थित अमर सेवा समाज बहुउद्देश्यीय भवनमा प्रतियोगिता गर्ने जानकारी दिएको हो । प्रतियोगितामा तीन वटा इभेन्टस्मा खेलाइने आयोजकले जनाएको छ ।

आयोजक संस्थाका उपाध्यक्ष किशोर राईका अनुसार सिनियर डबल्स, राईजिङ डबल्स र भेट्रान डबल्स (५० वर्ष माथी) को प्रतियोगिता हुने छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रतिनिधित्व जनाइसकेका धरानका ८ खेलाडीसहित अन्य खेलाडीहरुले सहभागीता जनाउने आयोजकको भनाई छ । ‘राष्ट्रिय तथा अन्ताष्ट्रियस्तरमा खेलिसकेका धरानका ८ जना खेलाडी छन्, अन्य पनि धरानका उदियमान खेलाडी पनि छन्,’ प्रतियोगिताका प्राविधिक सल्लाहकार प्रतिक श्रेष्ठले भने,‘हामी सबैलाई मिलाएर खेलाउछौं ।’

प्रत्येक इभेन्ट्समा ८ जनाको समुह गरी जम्मा ६४ समुहले प्रतिस्पर्धा गर्ने उनले बताए । प्रतियोगितामा सहभागीले पोशाक अनिबार्य लगाउनुपर्ने छ । प्रतियोगितामा प्रत्येक खेलाडीलाई इन्ट्री फी ५ सय रुपैयाँ तोकिएको छ । प्रतियोगिताको सिनियर डबल्सका पहिलो र दोस्रोले नगद २५ हजार र १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक इभेट्समा तेस्रो पुरस्कार २ वटा रहेको छ । तेस्रोले ८–८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरी, राइजिङ डबल्सका प्रथम र दोस्रोले नगद १० हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी, तेस्रोले ३–३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी, भेट्रानतर्फ पहिलो र दोस्रोले नगद १२ हजार र ६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । तेस्रोले ३–३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै, प्रत्येक इभेन्ट्समा बेष्ट प्लेयर घोषित गदै सिनियर डबल्सलाई नगद २ हजार ५ सय, राइजिङ डबल्सलाई नगद १ हजार ५ सय रुपैयाँ र भेट्रान नगद २ हजार रुपैयाँ प्रदान गरिने छ । संस्थाका उपाध्यक्ष राईले धरानमा फुटबल जस्तै ब्याटमिन्टन खेललाई पनि विकास गर्नको लागि प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले सबै उमेर समूहले खेल्न सकिने ब्याटमिन्टन खेलको विकास गर्न सकियो भने खेलसँगसँगै स्वास्थ्यलाई पनि फाइदा पुग्ने बताए ।

धरानमा ब्याटमिन्टन खेलको विकासमा थोरै टेवा पुगोस् भन्ने हेतुले आफ्ना दिबंगत आमा र बाबुको नाममा प्रतियोगिता आयोजना गर्न लागेको संस्थाका अध्यक्ष विदुर राईले बताए । दिबंगत पृथ्वी–लक्ष्मी राईको चार छोरा विदुर राई, किरण राई, किशोर राई र विक्रम राई छन् भने दुई छोरी अमृता राई र कला राई छन् । साहिलो छोरो किशोर राई पूर्व राष्ट्रिय फुटबल खेलाडी हुन् भने हाल अखिल नेपाल फुटबल संघ (एन्फा)का मानार्थ बरिष्ठ उपाध्यक्ष छन् ।