धरान: शनिबार बिहान धरानको भानुचोकस्थित घण्टाघरको पेटीमा निक्कै भिड थियो । केही युवाहरु कपडा निकाल्दै दिइरहेका थिए । उनीहरुलाई वरिपरी सडक बालकहरु र केही बृद्धबृद्धाहरुले घेरिरहेका थिए ।

ती युवाहरुको हातबाट सडक बालक र वृद्धवृद्धाहरुले कपडा लिन्थे, आफ्नो जीउमा फिट हुन्छ कि हुदैन भन्दै यसो नाप्थे, र खुशी हुदै लिएर जान्थे । त्यसरी कपडा लैजादा उनीहरुले पैसा तिर्नुपर्दैनथ्यो । यसरी विना पैसा कपडा लैजाने व्यवस्था युथ क्यान नामको संस्थाले गरिदिएको थियो । गिभ क्लोथ अर्थात कपडा देऊ भन्ने यो सामाजिक अभियान विदेशबाट काठमाण्डौं, विराटनगर, इटहरी हुदै धरानका युवाहरुले पनि शुरुवात गरेका हुन् ।

संस्थाका संस्थापक धरान ७ का सुनिल क्षेत्रीका अनुसार असहाय एवं वेसहारा तथा निम्न आर्थिक अवस्थाका मानिसहरुलाई सहयोगको निम्ति यो कार्यक्रम शुरुवात गरिएको हो । उनीहरुसँग खुशी र प्रेम बाँड्ने मुख्य उद्देश्य भएको पनि उनले बताए । अभियानअन्र्तगत जो कोहीबाट पुराना तर प्रयोग गर्न मिल्ने कपडाहरु संकलन गरेर यो शनिबार वितरण गरिएको उनले बताए । यो अभियानको शुरुवात लिम्बूवानी नेता एवं सामाजिक अभियन्ता अमर इजमले सडक बालकलाई कपडा प्रदान गरेर शुरुवात भएको थियो ।

give-cloths

हाल यो अभियानमा २० जना युवाहरु समेटिएका छन् । उनीहरुले आफ्ना साथीभाई वा जो कसैबाट काम लाग्ने तर केही पुराना कपडाहरु संकलन गर्छन् । हाल धरान उपमहानगरपालिकासँग ठाउँको लागि पहल भइरहेको र ठाउँ उपलब्ध भएमा हरेक दिन नै यसरी नै कपडा विरतण हुने अर्का युवा मञ्जिल कार्कीले बताए । ‘जसले कपडा खरीद गर्न सक्दैन, घरपरिवारविहिन छन्, उनीहरुलाई ठुलो राहत मिल्छ,’उनले भने । लिम्बूवानी नेता अमर इजमले पनि युवाहरुले प्रसंशनीय कार्य गरेको भन्दै स्थायीरुपमा रहने गरी स्थानीय सरकारसँग ठाउँ उपलब्ध गराउन पहल गर्ने बताए ।

give-cloths2