ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सर्वसाधारणको १० करोड लिएर व्यापारी फरार” शीर्षकको समाचार छापिएको छ । सर्वसाधारणको १० करोड रुपैयाँभन्दा बढी लिएर मोरङको बेलबारी बजारका एक व्यापारी सम्पर्कविहीन भएका छन् । बेलबारीको फिल्म हल लाइनमा ओमकृष्ण सुनचाँदी एवम् हार्डवेयर सञ्चालन गर्ने व्यापारी तथा जग्गा कारोबारी गर्ने घनश्याम श्रेष्ठ करिब एक सय जना सर्वसाधारणको पैसा लिएर सम्पर्कविहीन भएका हुन् । ठगीमा पर्ने प्रतिष्ठीतदेखि सामान्य जीवनयापन गर्नेसम्म छन् । सबैभन्दा बढी जग्गा दिने र फ्याक्ट्री खोलेर शेयर दिने बहानामा व्यापारी श्रेष्ठले ठगी गरेको पीडितहरुको भनाई छ । यसैगरी “इटहरीमा ठगहरुको बिगबिगी” पछिल्लो समय इटहरीमा विभिन्न बहाना बनाई ठगी गर्नेको संख्या वृद्धि भएको छ । इलाका प्रहरी कार्यालय इटहरीको तथ्यांकनुसार पछिल्लो एक वर्षमा सानाठुला गरी हजारभन्दा बढी ठगी गरेको उजुरी परेको छ । वैदेशिक रोजगारीका लागि राम्रो देशमा पठाइदिने प्रलोभन देखाई इटहरीमा धेरै ठगिने गरेका छन् । इटहरी छिट्टै कमाउने दाउदेखि अपराध गरेर लुक्ने ठाउँसमेत बन्दै गएको छ । धेरैजसो सर्वसाधारणहरु जग्गा कारोबारमै ठगिएका छन् । जग्गामा ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ ।

यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “भूमाफियालाई कसरी पुर्जा दिनुभो सरकार ?” शीर्षकको अर्को समाचार पनि छापिएको छ । मोरङ पथरीशनिश्चरे नगरमा दोहोरो स्वामित्वका कारण जग्गाको समस्या छ । त्यही समस्याको समाधान माग्दै आइतबार नगरक्षेत्रभित्रका सुकुम्बासीहरुले नगरपालिकामा ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझाउने क्रममा भएको भेलामा दोहोरो स्वामित्वको जग्गा पीडित वृद्धा टिकाकुमारी खतिवडा बोलिन्, “जंगल ढालफाँट गरेर जोतभोग गर्दै आउने हामी, मूमाफियालाई कसरी हाम्रो जग्गाको धनीपूर्जा दिनुभो सरकार ?” उनको भनाइलाई समर्थन गर्दै उपस्थितहरुले ताली बजाए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “सेनाका मेजरविरुद्ध लागुऔषध मुद्दा” शीर्षकको समाचार छापिएको छ । ब्राउन सुगर कारोबारमा संलग्न भएको आरोपमा सेनाको पूर्वी पृतना मुख्यालय इटहरीका मेजरसहित दुई जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । ब्राउन सुगर प्रयोगकर्तामा इटहरीका प्रतिष्ठित परिवारका व्यक्तिसँगै सुरक्षा निकायका व्यक्ति संलग्न रहेको सुइको पाएपछि प्रहरीले चारमहिनादेखि निरन्तर निगरानी राखेकोमा सेनाका मेजर अजितप्रताप सिंह र रामधुनी वडा नं १ का प्रमोद चौधरी शनिबार साँझ पक्राउ परेका हुन् । धनगढी घर भएका ३७ वर्षे मेजर सिंह र चौधरीलाई लागूऔषध कारोबारीमा प्रहरीले मुद्दा दर्ता गरेको हो । चौधरीले ब्राउन सुगर किन्न सेनाको पृतना मुख्यालय अगाडि गएको बेला प्रहरीले दुबैलाई पक्राउ गरेको थियो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “प्रहरी चौकी प्रहरीबिहीन” शीर्षकको समाचार छापिएको छ । माओवादी द्धन्द्धकालमा असुरक्षाका कारणले बन्द भएका छोटी भन्सार कार्यालयको सञ्चालन अझै अन्योल बनेको छ । मोरङको सीमावर्ती नाकामा सञ्चालनमा रहेका नौ वटा छोटी भन्सार कार्यालयमध्ये अझै आधा दर्जन कार्यालय बन्द अवस्थामै रहेको विराटनगर भन्सार कार्यालय रानीले जनाएको छ । त्यस्तै सोही बेला सीमामा रहेका प्रहरी चौकीमा समेत २ दशकदेखि प्रहरीविहीन अवस्थामा रहेका छन् । अवैध ओसारपसार नियन्त्रण गर्न सरकारले छोटी भन्सार कार्यालय स्थापना गरेको थियो । तत्कालिन माओवादीले बम विस्फोट गराएर वा असुरक्षाका कारण बन्द भएका मोरङका छोटी भन्सार कार्यालय सञ्चालनमा आउन नसकेका हुन् । मोरङका छोटी मन्सार कार्यालयमध्ये हाल तीन वटा मात्र सञ्चालनमा रहेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले जानकारी दिए ।