ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “साझा नेताको पक्षमा धरानका बुद्धीजीवी” शीर्षकको समाचार छापिएको छ । उपनिर्वाचनको चर्चा चलेसँगै धरान उपमहानगरमा मेयरका लागि नेताहरुको सर्ट लिष्टिङ भइरहेको बेला धरानका बुद्धिजीवीहरु भने विकासप्रेमी साझा नेता को पक्षमा देखिएका छन् । २ दशकसम्मको भ्याकुमलाई अन्त्य गर्न सबल र विकासप्रेमी साझा नेता को पक्षमा बुद्धिजीवीहरु देखिएका हुन् । राजनीतिक पार्टीहरुले गुट, उपगुट र भागबण्डाबाट नेता चयन गर्ने परिपाटीले धरानको विकास अझेलमा पर्दै गएको बुद्धिजीवीहरुको तर्क छ । धरानको एयरपोर्ट, बसपार्क, ६ लेन सडकजस्ता विकासका कार्यक्रमहरु हल अलपत्र अवस्थामा छन् । “धरानमा अवरुद्ध भएका विकास निर्माणलाई पार लगाउन सक्ने नेताहरुको आवश्यक्ता छ”, प्रा. डा. राजेन्द्र शर्मा भन्छन्, “यहाँका नेतामा त्यो कार्यकुशलता छैन भने बाहिरका नेतालाई बोलाएर पनि दिन जरुरी छ ।” अहिले नेकपाबाट मेयरका लागि केही स्थानीय तथा केन्द्रिय तहका नेताहरु आकांक्षीका रुपमा देखिएका छन् । नेकपामा प्रकाश राई, रमेश बस्नेत, मुक्साहाङ मेन्याङबो, आइन्द्रविक्रम बेघा, विजय राईलगायतका नामहरु ज्नतामाझ आएका छन् । कांग्रेसबाट तिलक राई, सुजेन्द्र गोलेजस्ता नामहरु आईरहेका छन् । तर, योग्यता र धरानको विकासको हकमा भने कुन नेता आवश्यक छ भनेर बुद्धिजीवी सर्कलमा व्यापक चर्चा परिचर्चा हुने गरेको छैन ।

औजार : आजको औजार दैनिकमा “धरानमा हड्डीबाट मल बनाउने मेसिन थन्कियो” शीर्षकको समाचार छापिएको छ । धरानमा मासु काटेर निस्किएको हड्डीबाट मल बनाउनको लागि खरिद गरेको एक लाखको “बोन कटर मेसिन” प्रयोगविहीन भएको छ । भर्खरै धरान उपमहानगरपालिका र स्थानिय लघु धरान कम्पोष्ट मल उत्पादन केन्द्र समूहले संयुक्त रुपमा खरिद गरेको सो मेसिन प्रयोगविहीन अवस्थामा पुगेको छ । २ हप्ताअघि मात्रै सो बोन कटर मेसिन खरिद गरिएको हो । सो मेसीन धरान ८ स्थित लाङ्घाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालय परिसरमा राखिएको छ । लघु धरान कम्पोष्ट मल उत्पादन केन्द्र समुहलाई हड्डीबाट मल बनाउनका लागि प्रदान गरिएको छ । मेसीन जडान गरिए पनि हड्डीबाट मल उत्पादन हुन सकेको छैन । धरान उपमहानगरको ६० प्रतिशत र समुहको ४० प्रतिशतको लगानीमा सो मेसीन खरिद गरिएको थियो । दैनिक पशुबध गरी निस्किएको हड्डीजन्य वस्तुलाई उचित व्यवस्थापन र त्यसलाई कम्पोष्ट मल बनाउने उद्देश्यले बोन कटर मेसीन संयुक्त रुपमा खरीद गरिएको थियो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “झापामा अवैध हातहतियारको बिगबिगी” शीर्षकको समाचार छापिएको छ । झापामा पटक पटक अवैध हतियार बरामद हुँदै आएको छ । कानुनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक ठहर हुने कानुनी प्रावधान विपरीतका हतियारको दिनानुदिन भयावह अवस्था देखिदै गएको छ । खुला सिमानाका कारण झापामा अवैध हातहतियारको अवस्था भयावह रहेको देखाएको हो भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती भइहरको प्रहरीको भनाई छ । यसैबीच नेपाल–भारतको सीमावर्ती नाका पानीट्यांकीमा पेस्तोल र त्यसमा लाग्ने सात राउण्ड गोलीसहित एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउन पर्नेमा झापाको मेचीनगर नगरपालिका ११ स्थित गैरीगाउँका ३७ वर्षीय किर्तीन वतर चौधरी रहेको भारतीय प्रहरीले जनाएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “बिदा नदिँदा मुस्लिमको आक्रोस” शीर्षकको समाचार छापिएको छ । मुस्लिम धर्मालम्वीहरुको ठुलो पर्व बकर इदमा सरकारले सार्वजनिक विदा नदिएको भन्दै मुस्लिम अगुवाहरुले आक्रोश व्यक्त गरेका छन् । धर्मनिरपेक्ष देशमा मुस्लिम समुदायको प्रमुख पर्वका रुपमा मनाइने बकर इदमा राष्ट्रिय विदा नदिएर सरकारले आफ्नो समुदायको अपमान गरेको उनीहरुको गुनासो छ । संघीय सरकारले राष्ट्रिय पर्वको विदाबाट कटौती गरपछि गत वर्ष प्रदेश १ मा बकर इदमा सार्वजनिक विदा दिएको थियो । तर यस वर्ष विदा नदिएपछि मुस्लिम समुदाय रुष्ट भएका हुन् ।