धरान : प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले संचालन गरेको “म अघि बढ्छु” कार्यक्रममा धरान आईपुगेका महाविर पुनले धरानका युवाहरु संग अन्तरकृया गरेका छन् ।

देश किन गरिब भयो ? देशमा कसरी समृद्धि भित्राउन सकिन्छ ? भन्ने विषयमा अन्तरकृया गर्दै युवाहरुले देशमा नै आय हुने काम गर्नु पर्ने बताए । प्राकृतिक, सामाजिक र सांस्कृतिक जस्ता सबै कुराले नेपाल सम्पन्न भएपनि आर्थिक हिसाबले नेपाल पछाडि परेको उनको अनुभव थियो । युवाहरुबाट मात्र देशमा समृद्धि हुने विश्वास व्यक्त गर्दै युवाहरुलाई प्रविधिको क्षेत्रमा अघिबढाउनु पर्ने उनले विचार व्यक्त गरे ।

अन्तरकृया कार्यक्रममा रोट्रयाक क्लब अफ धरान, नेमी नेपाल, लियो क्लब अफ बुढासुब्बा, नेप्लिज युथ कम्यूनिटी लगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपालको ग्रामिण भेगमा सुचना प्रविधि पुर्याउन समाजसेवीको रुपमा चिनिएको व्यक्तित्वलाई प्रत्यक्ष भेटेर देश भक्तीको विषयमा उत्प्रेरणा मिल्ने विचार सुन्न पाएकोमा नेप्लिज युथ कम्यूनिटीका अध्यक्ष लुईस जेम राईले खुशी व्यक्त गरे । रोट्रयाक क्लव अफ धरान घोपाका अध्यक्ष शुभ न्यैपानेले अफुहरु पनि प्रदेश सरकारले अघि बढाएको अभियानमा सहभागि हुने प्रतिवद्धता व्यक्त गरे । लियो क्लब अफ बुढासुब्बाका अध्यक्ष अर्मन अलिले युवाहरुलाई रुपान्तरण गर्ने कार्यक्रम लिएर आफ्नो क्षेत्रमा आएकोमा आयोजकहरुलाई विशेष स्वागत र समाजसेवी महाविर पुनलाई विशेष धन्यवाद ज्ञापन गरे ।
नेपालमा दिगो शान्ती, सुशासन, विकास र सम्वृद्धिको परिकल्पनाका साथ समतामुलक, समय समाज निर्माण गर्ने भन्ने नेपालको संविधानको प्रस्तावनामा भनिएको कुरालाई सार्थक बनाउन यस “म अघि बढ्छु” भन्ने कार्यक्रमले सहयोगपुर्याउने लक्ष्य लिएको छ । प्रदेशको सामाजिक तथा सास्कृतिक पक्षहरुलाई सुदृढ गर्दै किशोर अवस्थामा प्रवेश गरेका ९ देखि १२ कक्षा सम्म अध्ययन गर्ने १३ देखि १९ वर्षसम्मका विद्यार्थीहरुलाई सक्षम, जिम्मेवार, चरित्रवान, सकारात्मक, सुसंस्कृत, र लागुऔषध दुव्र्यसनबाट मुक्त समतामूलक समाज निर्माण गर्न सहयोग पुर्याउने अभियानको लक्ष्य रहेको “म अघि बढ्छु” कार्यक्रमका संयोजक नवराज राईले जानकारी गराए ।
प्रदेश नं. १ का स्कूलहरुमा कक्षा ९ देखि १२ सम्म सगरमाथा टिन्स क्लव गठन गर्ने र उनिहरु मार्फत विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु संचालन गरी राष्ट्रका लागि आवश्यक पर्दा जुनसुकै बेला स्वयंसेवी बन्छु भन्ने भावना जागृत गराउने उद्देश्य रहेको र महाविर पुनले मोरङ्ग र सुनसरीका विभिन्न विद्यालयहरुमा पुगी विद्यार्थीहरुसँग अन्तरकृया गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका रवि खनालले जानकारी गराए ।
“म अघि बढ्छु” भन्ने अभियान अन्तरगत गठीत सगरमाथा टिन्स क्लव संचालन तथा व्यवस्थापन कार्यविधि २०७५ अनुसार अघि बढ्ने छ । अभियानलाई कार्यान्वयन गर्न प्रदश स्तरिय, जिल्ला स्तरिय, स्थानीय तह, स्तरिय समन्वय तथा सहजीकरण समिति गठन गरिएको छ । विद्यालय तहका कार्यक्रम कार्यान्वयन समिति निर्माण गरिदैछ भन्ने विषयमा कार्यक्रमको फोकल पर्सन मन्त्रालयका विजय राईले जानकारी गराए ।