धनुषा : महोत्तरीका एक वडाध्यक्ष सहित तीनजना १ लाख ६० हजार घुससहित पक्राउ परेका छन् ।

भंगहा नगरपालिका–८ का वडाध्यक्ष मोहम्मद रफिक आलम, वडा सदस्य कारी साह र उनका छोरा मुकेश साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

सडक ढलानको काम सम्पन्न भएको योजनाको भुक्तानी लिन आएका उपभोक्तासँग वडा सदस्य कारीका छोरा मुकेश घुस लिन जनकपुर आएका थिए । जनकपुरको पीडारीचोकमा रहेको राष्ट्रिय वाणिज्य बैंकको गेटमा मुकेशले उपभोक्ता समितिसँग १ लाख ६० हजार रकम बुझिरहेको बेला आयोगको टोलीले उनलाई पक्राउ गरेको छ ।

त्यसपछि वडाध्यक्ष आलम र वडा सदस्य साहलाई घरबाटै नियन्त्रणमा लिएको आयोगले जनाएको छ । उनीहरुले योजनाको काम सम्पन्न भएबापत उपभोक्ता समितिसँग घुस मागेका थिए । आयोगले पूर्व सूचनाको आधारमा मुकेशलाई पछ्याएका थियो ।

घुससहित पक्राउ गरेको मुकेशमाथि कारबाही प्रक्रिया अघि बढाएको र घुस लिनेमा नाम मुछिएका वडाध्यक्ष आलम र वडा सदस्य साहमाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।