ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “अर्बौ मूल्यको सरकारी जमिन हत्याउने प्रयास” शीर्षकको समाचार छापिएको छ । झापाको विर्तामोड मुक्तिचौक नजिकैको अर्बौ मूल्यको ७ बिगाहा १७ कठ्ठा सरकारी जमिन एक समूहले हत्याउने प्रयास शुरु गरेको छ । उनीहरुले विर्तामोड चोकैमा रहेको सरकारी जमिनमा मोही खडा गरी हत्याउने प्रयास गरेको पाइएको छ । मुक्तिचौकदेखि २ सय मिटर पूर्वमा रहेको सो सरकारी जमिनमा मोहियानी हकका नाममा उनीहरुको आखा परेको हो । उनीहरुले मोही खडा गरी जमिन हातपार्ने प्रयास गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र खाद्य संस्थानको स्वामित्वमा रहेको अहिले खाली रहेको जमिनमा त्यस समूहको आँखा परेको छ । उनीहरुले चन्द्रगढीको भूमिसुधार तथा मालपोत कार्यालयमा जग्गा नामसारी तथा बाँडफाँड को लागि मुद्दा दर्ता गरेका छन् । विचारधीन रहेको सो मुद्दामा मोहीको पक्षमा फैसला हुनसक्ने कागजपत्र समावेश गरिएको अनारमनी गाविस ३ को कित्ता नम्बर १४९ मा २०२१ सालमा वैशाखु माझिको नाममा दर्ता कायम रहेको १५ कठ्ठा जमिनमा मोही रहेको भन्दै चेकलाल धिमालका छोरा अष्टम धिमालले नामसारी तथा बाँडफाँडका लागि भूमिसुधार कार्यालयमा मुद्दा दर्ता गरेका हुन् । मेचीनगर नगरपालिका १२ घर भएका धिमालले २०२१ सालमा नै आफ्ना बाबुको नाममा मोही कायम रहेको प्रमाण पनि पेश गरेका छन् ।

औजार : आजको औजार दैनिकमा “१ सय ७८ जना विद्यार्थी, शिक्षक दरबन्दी शुन्य” शीर्षकको समाचार छापिएको छ । धरान उपमहानगरपालिका भित्र १६ वर्ष अघिदेखि सञ्चालनमा आएको एक प्राथमिक विद्यालयमा अझैसम्म एक जना पनि दरबन्दी शिक्षक नहुँदा पठनपाठनमा समस्या हुँदै आएको छ । धरान १७ स्थित फोक्ल्याण्डमा रहेको दिपेन्द्र स्मृति आधारभूत विद्यालय वि.सं. २०६० सालमा स्थापना भएको हो तर अहिलेसम्म शिक्षक दरबन्दी नहुँदा त्यहाँ कार्यरत शिक्षकहरु स्वयम् सेवक शिक्षकको रुपमा अध्यापन गराउन बाध्य भएका छन् । सो विद्यालयलाई शिक्षा सदन माविका पूर्व प्रध्यानाध्यापक श्याम कटुवालको पहलमा असहाय बाल कल्याण समाज धरान मार्फत् नेदरल्याण्डका विदेशी नागरिक मिस्टर हेन्कको आर्थिक सहयोगले सञ्चालित हुँदै आएको छ । विद्यालयले सरकारी दरबन्दीको लागि पहल कदमी गरे पनि अहिलेसम्म शिक्षक दरबन्दी पाउन नसकेको दिपेनद्र स्मृति प्राविका प्रध्यानाध्यापक पर्वत सञ्जेलले बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “कटारीमा पर्यटन तथा सांस्कृतिक महोत्सव” शीर्षकको समाचार छापिएको छ । स्थानीय पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित उदयपुरको कटारीमा प्रथम कटारी ऐतिहासिक पयटन तथा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । कला संस्कृतिको संरक्षण, प्राकृतिक सम्पदा र पर्यटन प्रवद्र्धन तथा स्रष्टा सम्मान हाम्रो अभियान भन्ने मूल नाराका साथ आगामी असोज ११ देखि १७ गतेसम्म पयटन तथा सांस्कृतिक महोत्सब आयोजन ागर्न लागिएको कटारी नगरपालिकाले जनाएको छ । नगरपालिकाको आयोजनामा हुने महोत्सवमा २८ लाखभन्दा बढी खर्च हुने अनुमानित कार्यक्र म सार्वजनिक गरिएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “विद्युत् समस्याबारे छलफल” शीर्षकको समाचार छापिएको छ । उद्योग संगठन मोरङको आयोजनामा मंगलबार विराटनगर क्षेत्रमा भइरहेको विद्युत् कटौती, लो भोल्टेजलगायतका समस्याका विषयमा छलफल भएको छ । विराटनगर क्षेत्रका उद्योगी, व्यवसायी र नेपाल विद्युत् प्राधिकरण विराटनगर शाखा प्रमुख, दुहवी ग्रिड प्रमुख, कटहरी शाखा प्रमुखलगायतको उपस्थितिमा छलफल गरिएको उद्योग संगठन मोरङले जनाएको छ । संगठनले विगत केही समययता विद्युत कटौती, लोभोल्टेज, ट्रिपिङलगायतका समस्या भोग्नुपरिरहेको छ । छलफलमा संगठन अध्यक्ष भीम घिमिरेले नेपाल विद्युत प्राधिकरणको औधोगिक लोडसेडिङले मेनरोड र ट्रिपिङको कारण उद्योगी, व्यवसायी समस्यामा परेको गुनासो गरे ।