एजेन्सी: धरानलगायतका क्षेत्रमा पछिल्ला केही महिनादेखि डेंगुको प्रकोप बढे पनि निणन्त्रणमा आउन सकेको छैन । बरु अन्य क्षेत्रमा पनि फैलँदै गइरहेको छ । धरानमै पनि २ जनाको ज्यान डेंगुले गइसकेको छ ।

अझ छिमेकी मुलुक वंगलादेशमा डेंगुले ८ महिनामा ४० जनाको ज्यान गएको छ । सन् २०१९ को जनवरीदेखि हालसम्म यो संख्यामा ज्यान गुमाएको हो । डेंगुबाट हजारौं संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीले डेंगुका कारण ४० ले ज्यान गुमाइसकेको र हजारौं त्यसबाट संक्रिमत भएको पुष्टि गरेका छन् । बंगलादेशी सञ्चारमाध्यमहरुले भने सरकारको तथ्यांकभन्दा बढी मानिसको ज्यान गएका दाबी गरेका छन् । गत हप्तासम्ममा १०० भन्दा बढी नागरिकले डेंगुको संक्रमणबाट ज्यान गुमाएको उनीहरूको भनाइ छ ।

पछिल्लो समय डेंगु संक्रमित पनि उत्तिकै बढिरहेका छन् । गत जनवरीदेखि ४४ हजार बिरामी डेंगुको आशंकामा अस्पताल भर्ना भइसकेका छन् । सोमबार मात्रै विभिन्न अस्पतालमा दुई हजार १०० बिरामी भर्ना भएको स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरले बताएका छन् । अस्पतालका शैय्या संक्रमितले भरिएपछि भुइँमा बसेर बिरामीले उपचार गरिरहेका छन् ।