धरान: सुचना प्रविधिका अभियन्ता महाविर पुनले देशको समृद्धि र विकासको लागि राष्ट्रिय आविष्कार केन्द्रको देशव्यापी अभियान चलाइरहेको बताएका छन् ।

मंगलबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन गरेको ‘म अघि बढ्छु’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आविष्कार केन्द्रको संस्थापक अध्यक्ष समेत रहेका पुनले देशलाई समद्ध बनाउनको लागि आविष्कार केन्द्र अपरिहार्य भएको बताए । ‘देशको लागि अति आवश्यक भएकोले राष्ट्रिय आविष्कार केन्द्रको अभियान चलाएको हो’ पुनले भने ‘देशलाई राष्ट्रिय आविष्कार केन्द्रको अभियान किन चाहियो ? भन्ने पनि होला, त्यसको एउटै उत्तर देशको समृद्धिको लागि अभियान चलाउनु परेको हो ।’ उनले आविष्कार केन्द्रको बारेमा गलत भ्रम सिर्जना गरिएको भन्दै चर्को असनतुष्टि पोखे । उनले आविष्कार किन ? र कसरी गर्ने ?, कुन विषयमा गर्ने भन्ने ? जिज्ञासा राख्नु स्वभाविकै भएको बताए । ‘धेरै मान्छेको दिमागमा एमए पिएचडी गर्नेले मात्र गर्छन साधारण जनताले गर्न सदैनन् भन्ने ठुलो भ्रम छ’ उनले भने ‘यो भ्रम चिर्नको लागि पनि राष्ट्रिय व्यापीरुपमा अभियान चलाएको हो ।’

उनले प्रतिभाशाली प्रतिभालाई सिर्जनशिल बनाउदै उद्यमी बनाउन सकियो भने देशमा समृद्धि हाशिल हुने बताए । त्यसको लागि अनुसन्धान, रिसर्चको आवश्यकता हुने हुँदा त्यो वाताबरण राज्यले तयार गर्नुपर्ने बताए । ‘प्रतिभाशाली प्रतिभालाई सिर्जनशिल बनाउनु पर्यो अनि उद्यमी बनाउनु पर्यो’ उनले भने ‘त्यतीकै शिप सिकिदैन उद्यमी बन्न सकिदैन, यसको लागि अनुसन्धान, रिसर्च गर्नुपर्यो, त्यसको लागि सपोर्ट चाहिन्छ ।’ तर, राज्यले यस्ता प्रतिभालाई सहयोग गर्ने चासो नदिएको र त्यसैले देशमा समृद्धि हाशिल हुन नसकेको बताए । उनले युवाहरुमा आउने नविन प्रतिभाहरुलाई उजागर गदै देशलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउनुपर्ने बताए । उनले विश्वका धनी मुलकहरुले प्रविधिको विकाससंगै विभिन्न सामानहरु उत्पादन गरेर आत्मनिर्भर भएकै कारण आज धनी मुलुकको रुपमा चिनिएको बताए ।

उनले जुनसुकै क्षेत्रका प्रतिभाको विकास गर्न आविष्कार केन्द्रले आर्थिक, भौतिक, नैतिक सबै सहयोग गर्ने बताए । देशमा रोजगारीको सिर्जना गर्न सकियो भने युवाहरु विदेश जानुपर्ने बाध्यता हट्ने बताउदै यसैको अभियानमा आफु लागेको समेत प्रष्ट्याए । युवाहरुलाई व्यावसायिक बनाउन सकियो भने देशमा आर्थिक समृद्ध हाशिल गर्न सकिने बताए । उनले नेपाल प्राकृतिक रुपमा धनि मुलक भएपनि आर्थिक क्षेत्रमा गरिबमुलकको रुपमा विश्वमा चिनिएको बताए । उनले प्राकृति स्रोत साधनमा धनि भनेर मात्र देशमा समृद्धी नआउने बताउदै देशमा समृद्ध ल्याउनको लागि सबै उद्यमशिल बन्न जरुरी रहेको बताए ।