धरान: आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा उम्मेदावारीको लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी सुजेन्द्र तामाङले स्वेच्छिक अवकाश लिएका छन् ।

चुनावमा मेयर पदको उम्मेदवारीका लागि तयारी गर्न तथा पूर्ण समय धरान र धरानवासीको सेवामा समर्पित हुन भन्दै उनले स्वेच्छिक अवकाश लिएका हुन् । तामाङले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनाललाई स्वेच्छिक अवकाशको निवेदन बुझाएका छन् । अवकाश पत्र बुझ्दै निमित्त उपकुलपति खनालले प्रतिष्ठानमा लामो समयदेखि अनवरत रुपमा इमान्दारीपूर्वक पदीय जिम्मेवारी वहन गरेको साथै पेशागत संगठनको नेतृत्वसमेत गरेको भन्दै प्रसंसासहित शुभकामना दिएका थिए । उनले तामाङले गरेको योगदानलाई प्रतिष्ठान परिवारले सदा स्मरण गरिरहने भन्दै राजनीतिक एवम् सामाजिक जीवनको पूर्ण सफलताको लागि शुभकामना दिए ।

sujendra-tamangg

जागिरबाट अवकाश लिएका तामाङले अब धरान र धरानवासीको सेवामा आफुलाई समर्पित गर्ने बताए । धराने जनताको इच्छा र भावनाको कदर गर्दै जागिर छोडेर धराने जनतासामु आएको उनको भनाई थियो । उनले नेपाली कांग्रेस पार्टीमा मेयर पदका लागि आफु सशक्त दावेदार रहेको बताउदै आएका छन् । उनले उम्मेदवारी र निर्वाचनको तयारीका लागि नै आफुले बेलैमा जागिरवाट अवकाश लिएको समेत खुलाए । ‘धरानमा कुशल, योग्य र सक्षम साझा नेताको खोजी भईरहेको छ, मैले धरानमा भ्रष्टार विरोधी, विकास प्रेमी, जनपक्षीय, गतिशील नेताको छवि बनाएको छुँ,’उनले भने,‘म अब पुर्णरुपमा समाजको लागि काम गर्नेछुँ ।’
तामाङ नेपाली कांग्रेसका जिल्ला सचिव एवं प्रवक्तासमेत हुन् भने आदिबासी जनजाति अभियन्ता पनि हुन् । उनी आगामी निर्वाचनको लागि नेपाली कांग्रेसभित्र उम्मेदवारका सशक्त दाबेदार हुन् ।