ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “लाइफलाइन अस्पतालको बदमासीः अस्पतालभित्रै फोहोर जलाउँदै” शीर्षकको समाचार छापिएको छ । झापाको दमकस्थित लाइफलाइन् अस्पताल प्रालिले अस्पतालबाट निस्किएको फोहोर मापदण्ड विपरीत अस्पतालपरिसरमै जलाउने गरेको पाइएको छ । अस्पतालबाट निस्किएको फोहोर अस्पतालभित्रै जलाउँदा भाइरलको समस्या देखापरेको भन्दै स्थानीय आन्दोलित बनेपछि उक्त भेद खुलेको हो । स्वास्थ्यसंस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० मा अस्पतालबाट निष्कासन हुने सामान्य तथा चिकित्साजन्य फोहोरमैला प्रकृतिअनुसार स्रोतमै अलग–अलग छुट्याउने, सङ्कलन तथा उचित बिसर्जन गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ भनिएको छ । फोहोरमैला व्यवस्थापन नियमावली २०७० मा स्वास्थ्यसंस्थाजन्य हानिकारक फोहोरमैलाको निर्मलिकरण, प्रशोधन र व्यवस्थापन गरिनुपर्ने व्यवस्था भएपनि अस्पतालले उक्त मापदण्डविपरित काम गरिरहेको पाइएको हो ।

औजार : आजको औजार दैनिकमा “सासु र सौताबाट यातना” शीर्षकको समाचार छापिएको छ । सुनसरीको दुहबी नगरपालिका ११ तनमुनाकी एक महिला सासु र सौताको कुटाईबाट विक्षिप्त बनेकी छिन् । साउन १९ गते घरमा खान लाउन माग्न जादाँ श्रीमानको निर्देशनमा सासु र सौतेनीले कुटपिट गरेर घाइते बनाएपछि विक्षिप्त अवस्थामा पुगेकी हुन् । दश वर्षअघि दुहबी नगरपालिका ११ तनमुनाका दिलिप मण्डलसँग मागी विवाह गरेकी बुदनी मण्डललाई चारवर्ष अगाडी घर निकाला गरेको र जनबैनी गरि जिवन चलाउँदै आएकोमा पेट भर्न समस्या भएकाले श्रीमानको खान व्यवस्था मिलाइदिन भन्दा खान नदिएको उल्टै कुटपिट गरेको पीडितले बताए । पीडितलाई मण्डलकी सासु ५० वर्षीय पानोदेवी मण्डल र सौतेनी मन्जु चौधरी मण्डलले लाठी, हात र लात्तीले कुट्दा घाइते भएको र १० दिनदेखि उपचाररत रहँदा समेत विक्षिप्त अवस्थामा रहेकी छन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “सहभोज गर्दा बहिष्कार !” शीर्षकको समाचार छापिएको छ । दलितले दिएको दही खाएको निहुँमा खोटाङका एक वृद्ध अघोषित सामाजिक बहिष्कारको शिकार भएका छन् । खोटाङ दिक्तेल नगरपालिका १ का एक ७६ वर्षीय वृद्ध टंकप्रसाद आचार्य आफु सामाजिक बहिष्कारको शिकार भएको जानकारी दिदै बुधबार प्रदेश १ को संसद्मा न्याय माग्न आइपुगेका छन् । जातीय आधारमा हुने छुवाछुत तथा विभेद दण्डनीय अपराध हो । नेपालमा जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ लागू भएको ८ वर्ष भइसकेको छ । तर, छुवाछुत तथा विभेदका घटना अझै बाक्लै रुपमा भइरहेका छन् । दिक्तेल १ कोलेबारीका ७६ वर्षीय वृद्ध आचार्यलाई आफ्नै दाजुभाई र छिमेकीले दलित सहभागी सहभोजमा सरिक भएको निहुँमा बहिष्कार गरेका हुन् । बहिष्कार गर्नेमा जिल्ला समन्वय समितिमा कार्यरत कार्यालय सहयोगी आफ्नै नाताका गणेश आचार्य, प्रहरी महेश आचार्य तथा स्थानीय झनप्रसाद आचार्य रहेको उनले गुनासो गरे ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “मुख्यमन्त्री कप छानविनः संसदीय समितिमा मन्त्री उपस्थित” शीर्षकको समाचार छापिएको छ । मुख्यमन्त्री कप प्रदेश लिग फुटबाल प्रतियोगितामा अनियमितता भएको आशङ्कामा प्रदेश १ को सामाजिक विकास समितिले पनि चासो दिएको छ । अन्तरराष्ट्रिय प्रतियोगितासमेत गराउने घोषना भएको अवस्थामा पहिलो पटक आयोजना गरिएको प्रदेश लिग नै विवादमा परेको हो । समितिले बुधबार सामाजिक विकास मन्त्री जीवन घिमिरे र मन्त्रालयका सचिव हरिप्रसाद दाहालसँग प्रतियोगिताको प्राविधिक पक्ष तथा विवादबारे सोधपुछ गरेको छ । लेखाले आयोजक एन्फाका पदाधिकारीलाई प्रतियोगिताको बारेमा समितिकै बैठकमा सोधपुछपछि बिल भर्पाई बुझाउन निदेशन दिएको छ ।