सुनसरी: स्वास्थ्य मन्त्रालयले फगिङ मेसिनले धुँवा फाल्दैमा डेंगु नियन्त्रण नहुने प्रष्ट पारेको छ ।

इटहरी उपमहानगरमा भएको छलफल कार्यक्रममा स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा विवेक लालले धुवाँ फाल्ने कार्यले डेंगु नियन्त्रणमा सकारात्मक प्रभाव नपार्ने वरु ज्येष्ठ नागरिक र बालबच्चालाई हानी पुर्याउने बताए । स्वास्थ्य सचिव डा पुष्पा चौधरीले पनि डेंगु नियन्त्रणमा फगिङ उपयुक्त नरहेको बताइन् । तर अहिले धुवाँ फाल्न राजनीतिक दवाव तीव्र रहेको उनले बताइन् । उनले डेंगु फैलिसकेपछि नियन्त्रण हुन समय लाग्ने भएकाले संयमित रहन पनि आग्रह गरिन् । धरान र इटहरी उपमहानगरले नियन्त्रणमा गरेको प्रयासको उनले प्रशंसा गरिन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा विवेक लालका अनुसार डेंगु नियन्त्रणमा सर्च एण्ड डिष्ट्रोय विधि नै प्रभावकारी हो । अर्का डाक्टर सुरेश मेहताले पनि सर्च एण्ड डिष्ट्रोय गर्नुका साथै लेजिस्लेटिभ कन्ट्रोल प्रभावकारी हुने गरेको उदाहरण प्रस्तुत गरे । डेगुको संक्रमण देखिएपछि जमेको पानी हटाउने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनले बताए । जमेको पानी नहटाउने र सरसफाइमा ध्यान नदिनेलाई जरिवाना तिराउने विधि विश्वका विभिन्न देशहरुमा रहेको डा मेहताले बताए । डा विवेक लालले भारत, श्रीलंका, सिगांपुर लगायतका देशमा लाखौ जरिवाना र कैदसम्म गर्ने अभ्यास रहेको जानकारी दिए । सय जनामा ९९ जनाले सरसफाई गर्ने १ जनाले नगरे पनि समस्या हुने उनको भनाई छ ।

छलफलमा घर वरपर केहीमा पनि पानी जम्न नदिन डेंगुवाट जोगिने प्रभावकारी उपाय भएको बताइएको थियो । यसका लागि ब्यक्ति र समूदायनै जागरुक हुनुपर्ने उनीहरुको जोड थियो । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीमा डेँगु नियन्त्रणका सवै कार्यमा उपमहानगर प्रतिवद्ध रहेको बताए ।