धरान: बचतकर्ताहरुको करोडौं रुपैया हिनामिना गरी फरार भएका सल्लेरी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विश्वकर्मालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

बुटवलबाट समातिएका विश्वकर्मालाई धरान ल्याएर इलाका प्रहरी कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । गत असार २३ गतेदेखि फरार भएका अध्यक्ष विश्वकर्मा महिना दिनपछि बुटवलबाट पक्राउ परेका थिए । प्रहरीका अनुसार उनी बुटवलमा डेरा लिएर लुकीछिपी बसिरहेको अवस्थामा भेटिएको थियो । उनको साथबाट ठुलो परिणाममा सुनजस्तो देखिन धातु र चाँदी जस्तो देखिने धातु पनि वरामद भएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

salleri-president-krishna-b

प्रहरीका अनुसार बुटवलस्थित विश्वकर्माको डेराबाट सुनजस्तो देखिने धातुको गरगहनाहरु १६३.२९६ ग्राम (अन्दाजी १४ तोला) र चाँदी  जस्तो देखिने धातु २७९.९३६ ग्राम (अन्दाजी २४ तोला) पनि विश्वकर्माको डेराबाट वरामद भएको छ । प्रारम्भिक अनुसन्धानबाट सहकारीका अध्यक्ष विश्वकर्माले शिखर समरमाथा ज्वेलरी प्रा.लि. खोलेर सहकारीको रकम सुनचाँदी व्यवसायमा लगानी गरेको खुलेको छ । सहकारीको प्रबन्धकमा आफ्नै छोरा मोहन दर्नाल राखेर उनले प्रक्रिया मिलाएर नै हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले प्रबन्धक मोहन र लेखा कर्मचारी कमलादेवी विश्वकर्मालाई यसअघि नै पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार अध्यक्ष विश्वकर्माले सहकारीको रकम हिनामिना गरेको भन्दै ८५ जना वचतकर्ताहरुले उजुरी दिएका छन् । उनीहरुको मागदाबी कुल ६ करोड ३ लाख २० हजार ६ सय ६५ रुपैया पुग्ने डिएसपी न्यौपानेले जानकारी दिए । प्रहरीले पक्राउ परेका तीनै जनालाई सहकारी ऐनअन्र्तगत सहकारीको रकम हिनाहिना गरी ठगी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।