ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “खानेपानी आयोजनाको विषयमा दलहरुको जुहारी” शीर्षकको समाचार छापिएको छ । धरान उपमहानगरपालिकाद्वारा सञ्चालित धरान खानेपानी आयोजनाको प्रगति समीक्षाको जानकारी दिन बिहीबार बोलाइएको भेलामा नेकपा र अन्य दलबीच जुहारी चलेको छ । उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित भेलामा जुहारी चल्नुअघि आयोजना प्रमुख राजु पोखरेलले प्रगति विवरण सुनाएका थिए । जुहारी चल्नुअघि उनले खानेपानी आयोजनाको पछिल्लो प्रगति विवरण उल्लेख गर्दै आयोजनाले लक्षित गरेको भौतिक उद्देश्य १ करोड ९७ लाख २० हजार लिटर पानी उत्पादन कार्यमा शतप्रतिशत भन्दा बढी प्रगति हासिल गरेको बताए । आयोजनाले करिब आफ्नो काम सकिएको तर नेपाल खानेपानी संस्थानको सम्पति र दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्न मात्र बाँकी रहेको बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “कृषि इन्जिनियरलाई बाइपास नगर” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ का कृषि इन्जिनियरिङका विद्यार्थीहरुले कृषि प्राविधिकको सरकारी जागिरमा कृषि इन्जिनियरलाई विभेद नगर्नमाग गरेका छन् । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पूर्वाञचल क्याम्पसमा मात्रै पढाई हुने कृषि इन्जिनियरिङका उत्पादनलाई सरकारले बेवास्ता गरेको कृषि इन्जिनियरिङ तथा इन्जिनियरिङ विद्यार्थीहरुको माग छ । नेपाल कृषि इन्जिनियर्स सोसाइटी तथा नेपाल कृषि इन्जिनियरिङ विद्यार्थी समाजका अगुवाहरुले प्रदेश सरकारले खोलेको जागिरमा समेत विभेद गरेको गुनासो गरेका छन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “वडाध्यक्षबाटै कुटिए युवक” शीर्षकको समाचार छापिएको छ । नागरिकता लिन वडा कार्यालय गएका एक युवक वडाध्यक्षबाटै कुटिएका छन् । सिरहा नगरपालिका १८ का २५ वर्षीय मनोजकुमार रायलाई सोही वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समूहले कुटपिट गरेको हो । ०७६ असार २५ गते मनोजका बुबा रामसेवक रायको नागरिकताको प्रमाणपत्र वडाध्यक्ष यादवले सिँचाई बोडिङको उपभोक्ता समिति निर्माण गर्ने भन्दै लिएका थिए । मनोज सोही नागरिकता फिर्ता लिन साउन २८ गते दिउँसो वडा कार्यालय पुगेका थिए । “नागरिकता माग्दा वडाध्यक्षजीले हरायो भनेपछि विवाद भयो”, मनोजले भने । “सोहीबीचमा अध्यक्षजीले ममाथि हात छाड्नुभयो”, मनोजले भने, “मैले पनि प्रतिवाद गरे ।”

उद्घोष : आजको उद्घोष दैनिकमा “अदालतको आदेशले काम ठप्प” शीर्षकको समाचार छापिएको छ । मोरङको उर्लाबारी नगरपालिकाको चौथो नगर सभाको निर्णय कार्यान्वयनमा उच्च अदालत विराटनगरले रोक लगाएपछि नगरको काम कारबाही प्रभावित भएको छ । गत असार २९ गते भएको उर्लाबारी नगरपालिकाको नगरसभामा बजेट तथा नीति कार्यक्रममा मेयर खड्ग फागोले मनोमानी गरेको भन्दै उपप्रमुख लक्ष्मीदेवी भण्डारीले उच्च अदालतमा रिट दायर गरेकी थिइन् । उच्च अदालतले नगरसभाका निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि दैनिक काम प्रभावित भएको बताइएको छ । निशुल्क रुपमा हुने सिफारिस बाहेक शुल्क लिएर गरिने सिफारिससहित राजस्व संकलन लगायतका आर्थिक कारोबार रोकिएको प्रमुख प्रसासकिय अधिकृत टेककुमार रेग्मीले बताए । तर उक्त आदेशले जनताका प्रत्यक्ष सरोकारका काम रोकिएको उनको भनाई छ ।