इटहरी : ट्राफिक प्रहरी कार्यालय प्रदेश १ मा एक बर्षमा १६ करोड बढी राजश्व संकलन भएको छ । २०७५,७६ मा प्रदेश १ मा १६ करोड ७५ लाख ९८ हजार पाँच सय रुपैँया राजश्व संकलन भएको १ नं. प्रदेश ट्राफिक प्रहरीले जनाएको छ । २०७४,७५ मा १६ करोड १६ लाख १ हजार रुपैँया राजश्व संकलन भएको थियो भने यो बर्ष राजश्व संकलन बढेको हो ।

ट्राफिक प्रहरी कार्यालय १ नं. प्रदेश प्रमुख प्रहरी उपरीक्षक भीम बहादुर दाहालका अनुसार सबैभन्दा बढी मोटरसाइकल चालकले ट्राफिक नियम पालना नगरेकाले राजश्व संकलन गरिएको छ । दाहालले ७६ हजार ६ सय ९९ वटा मोटरसाईककलका चालकले राजश्व तिरेको बताए । उनले भने, ‘हामीकहाँ सबैभन्दा बढी मोटरसाईकल चालकले राजश्व तिरेको तथ्याङ्क रहेको छ ।’ ट्राफिक प्रहरीको तथ्याङ्कमा ६१ हजार ३ सय ४१ वटा ट्रक, ५० हजार ५३ वटा कार जीप, २४ हजार ३ सय वटा बस र १८ हजार ७ सय ८० वटा टेम्पो तथा अन्यले राजश्व तिरेका छन् । ‘हामीलाई राजश्व काट्ने कुनै रहर हैन,’ एसपी दाहालले भने, ‘सडक अनुशासनको वातावरण बसाउँनुपर्छ ।’ अघिल्लो आर्थिक बर्षको तुलनामा अहिले सवारी दुर्घटनामा पनि कमी आएको बताउँदै उनले भने, ‘अघिल्लो बर्ष प्रदेश १ मा दिनमा एकजनाको मृत्यु हुन्थ्यो भने अहिले ५० प्रतिसत कमी आएको छ ।’ आँफूले ट्राफिक प्रहरीलाई कारबाही कडा गर्न र बोलीचाली नम्र गर्न बिफ्रिङ गरिरहेको दाहालले बताए । उनले भने, ‘ट्राफिक प्रहरीले चाहेर मानिसलाई पटक–पटक दुःख दिएको हैन, आँफू सुरक्षित बन्न पनि हामीले अभिप्रेरित गरेका हौँ ।’