इटहरी : इटहरीमा काव्य उत्सव भव्य रुपमा सम्पन्न भएको छ । बिहीबारबाट इटहरीमा सुरु भएको श्रृजनशील उद्यमशील मेलाको दोस्रो दिन शुक्रबार प्रदेश १ मा बसेर साहित्य क्षेत्रमा कलम चलाउँदै आएका १० जनाले कविता तथा गजल सुनाएका छन् । लामो समयदेखि साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आएका कवि तथा गजलकारहरुले आफ्नो रचना सुनाएका हुन् ।

कविद्धय मिश्र बैजयन्ती, हेमन यात्री, देवान किराँती, सन्तोष थेबे, सीमा आभास, टीका आत्रेय, विवश बलिभद्र कोईराला, दीपक शम्चू, धीरज राई, जीवी गजलले कविता तथा गजल सुनाए । उनीहरुको सृजना सुन्न झापा, मोरङ, सुनसरीबाट आएका श्रष्टाहरुले वाहवाही दिएका थिए ।

श्रृजनशील उद्यमी मेलाकी सचिव रञ्जु सिग्देलका अनुसार नेपाली नारीहरुको तीज विशेष कार्यक्रमको अवसर पारेर उक्त मेला आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने मेलाको दोस्रो दिन साहित्य क्षेत्रको प्रबर्धन र विकासका लागि साहित्यिक कार्यक्रमको आयोजना गरिएको सिग्देलले बताईन् । बिनिता बञ्जराको संयोजकत्वमा भएको कार्यक्रम विराट अनुपमले सञ्चालन गरेका थिए ।