धरान: तिजको अवसर पारेर महिला सञ्जाल धरानले तीन दिने महिला उद्यमी बजार प्रर्वद्धन तथा प्रर्दशनी मेला २०७६ आयोजना गर्ने भएको छ ।

सञ्जालले शनिबार होटल नवयुगमा पत्रकार सम्मेलन गर्दै यही भदौ ५, ६ र ७ गते धरान १२ स्थित जिएस मार्केट अगाडि रहेको खाली जग्गामा उद्यमी मेला आयोजना गर्ने जानकारी दिएको हो । महिला उद्यमीहरुको उत्पादनलाई प्रर्वद्धन गर्न र तिजलाई फरक शैलीमा मनाउन सन्देश दिने उद्देश्यले मेला आयोजना गरिएको सञ्जालकी अध्यक्ष सविता राईले बताइन् । ‘महिला सञ्जाल महिला हकहित तथा अधिकारको लागि गठन गरिएको भएपनि आर्थिकरुपमा सवल नभएसम्म महिलालाई हेर्ने दृष्टिकोण र हिंसामा कमी हुदैन, त्यसैले उद्यमशील बन्न प्रेरणा दिने उद्देश्यले महिला उद्यमी मेला लगाउने तयारी भएको हो,’अध्यक्ष राईले भनिन् ।

मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुलाई मात्र प्राथमिकता दिइने मेलाकी संयोजक तथा सञ्जालकी वरिष्ठ उपाध्यक्ष चेतना सेरेङले बताइन् । उनका अनुसार मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु, ढाका तथा अल्लोका कपडा, जुत्ता चप्पल, कास्यका सामग्रीहरु, हाते झोलाहरु, अर्गानिक तरकारी तथा बस्तु, नेपाली खाजाको परिकारलगायतका ३० वटा स्टल रहनेछ । ‘३ दिनसम्म तिज बिशेष नृत्य प्रस्तुती, नाटक मञ्चन र साना बालबालिकाहरुको जातीय पोशाकमा फेशन शो पनि आयोजना हुन्छ,’संयोजक सेरङले भनिन्,‘महिला उद्यमीहरुको उत्पादनलाई कसरी बजारीकरण गर्ने, चुनौतीहरु के के हुन्छन् भन्ने बिषयमा अन्र्तक्रिया पनि हुन्छ ।’

udhami-mela1

मेलामा ईलाम, झापा, मोरङ, धनकुटा, सुनसरी र काठमाण्डौंबाट पनि महिलाहरुको उत्पादनको स्टल रहने आयोजकले जनाएको छ । मेला बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने आयोजकको भनाई छ । मेलामा स्वास्थ्य परीक्षणको लागि डा.सञ्जिव शर्माको नेतृत्वमा केएचडिसीको स्वास्थ्य शिविर पनि राखिने आयोजकले जनाएको छ । सँस्कृतिकोरुपमा मानिने तिज महिना दिनअघि देखि नै तडकभडकरुपमा मानिन थालिएपछि महिला सञ्जालले गत बर्षदेखि महिला उद्यमी मेला शुरुवात गरेको हो ।

गत बर्षको उद्यमी मेलाबाट महिला उद्यमीहरु उत्साहित भएकोले यो बर्ष पनि निरन्तरता दिएको अध्यक्ष राईले बताइन् । ‘गत बर्षको मेलाले उद्यमी महिलाहरु उत्साहित भएको पायौं, उहाँहरुको उत्पादन बजारीकरण हुनसक्यो, त्यसैले यो बर्ष पनि आयोजना गर्ने निर्णयमा पुग्यौं,’उनले थपिन् । उद्यमी महिलाहरुलाई प्रोत्साहन गर्न यस्तो प्रर्वद्धन मेला उपमहानगरपालिका वा उद्योग वाणिज्य संघले आयोजना गर्नुपर्ने सञ्जालकी सचिव कोपिला भटराईले बताइन् ।