धरान: प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(सिटिईभिटि)द्धारा धरानमा सञ्चालन भइरहेको फाइनल परीक्षामा चिट चोरी गरेको आरोपमा ११ जना विद्यार्थी पक्राउ परेको खुलेको छ भने अन्य ५ जना फरार छन् । परीक्षार्थीहरुलाई चिट चोराउने कार्यक्रम संलग्न एक व्यक्ति पनि फरार छन् ।

पक्राउ परेका सबै विद्यार्थी धरानको सुनसरी टेक्निकल कलेजका विद्यार्थी हुन् । उनीहरुलाई चिट चोराउने व्यक्ति पनि सोही कलेजका सामान्य कर्मचारी भएको खुलेको छ । अहिलेसम्म ११ जना विद्यार्थी पक्राउ परेको यो घटना गुपचुप छ । धरान १९ स्थित किरातेश्वर मावि परीक्षा केन्द्रमा बुधबार डिप्लोमा इन फार्मेसीअन्र्तगतको केमेष्ट्री बिषयको परीक्षा चलिरहदा एक विद्यार्थी पक्राउ परेका थिए । उनको उत्तर पुस्तिकामा अर्के पाना स्टिच गरिएको पाइएपछि जाँच गर्दा बाहिरबाटै लेखिएको पाना ल्याएको खुलेको थियो । पाँचथर निवासी ४३ बर्षीय परीक्षार्थी केदार खड्का तत्काल पक्राउ परेको र अन्य १५ जनाको कपीमा पनि सोही प्रकृतिको भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले खड्कालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ । उनकै वयानबाट सुनसरी टेक्निकल कलेजका कर्मचारी किरणराज भण्डारीको मिलेमतोमा प्रश्नको उत्तर नै लेखिएको पाना(चिट) परीक्षार्थीलाई उपलब्ध गराइएको खुलेको थियो । उनले परीक्षार्थीसँग २५ हजार दिने सर्तमा उत्तरपुस्तिकाजस्तै पानामा उत्तर लेखेर उपलब्ध गराएको पाइएको छ । एक घण्टा पछि नै उत्तर पुस्तिका बुझाएर निस्किएका परीक्षार्थीबाट प्रश्नपत्र लिएर उनले उत्तर लेखेको पाना परीक्षार्थीहरुलाई ट्वाइलेटबाट उपलब्ध गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । यो घटनामा परीक्षा केन्द्राध्यक्ष एवं किरातेश्वरका प्रअ योगेन्द्र पालुंवाले प्रहरीमा जाहेरी दिएका थिए ।

सुनसरी टेक्निकल कलेजका संस्थापक एवं प्रबन्ध निर्देशक लेखीराज सुब्बाले चिट चोरीको घटनामा कलेजका विद्यार्थीहरु पक्राउ परेको र चिट चोराउन एक सहयोगी कर्मचारीको मिलेमतो भएको स्वीकारे । तर, परीक्षा केन्द्रमा घटनामा आप्mनो कलेजको कुनै भुमिका नहुने उनले बताए । ‘हाम्रो विद्यार्थी र कर्मचारी हो, तर परीक्षा लिने, परीक्षा केन्द्र तोक्ने, उत्तरपुस्तिका ल्याउने, त्यसलाई सुरक्षा गर्ने,केन्द्राध्यक्ष तोक्ने, परीक्षा गार्डहरु राख्ने सबै काम सिटिइभिटि र प्रहरीको हो, त्यसमा हाम्रो केही पनि भुमिका हुन्न,’सुब्बाले भने,‘परीक्षा केन्द्रमा के भयो, कसरी चिट पुग्यो भन्नेमा हामीलाई केही थाह छैन । हामी त त्यहाँ जादा पनि जादैनौं । यो घटनाबारे सिटिइभिटि र प्रहरीले नै जिम्मेवार छन्, हामीसँग कुनै सरोकार छैन ।’

उनले विद्यार्थीहरुलाई कलेजले परीक्षा दिन मात्र पठाउने जिम्मेवारी भएको बताए । साथै, विद्यार्थीलाई परीक्षा दिनको लागि केही प्रशासनिक समस्या परेमा मात्र कर्मचारी जाने नत्र कलेजको कुनै सरोकार नै नहुने उनले बताए । ‘सहयोगीको काम गर्ने एउटा कर्मचारीले वद्मासी गरेछ, यसमा कलेजको कुनै पनि किसिमको संलग्नता छैन,’उनले भने ।