ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “ कोशी पीडितको गुनासो : मुआब्जा माग्दै तीन पुस्ता बित्यो” शीर्षकको समाचार छापिएको छ । सप्तकोसी नदीमा आएको बाढीले घरखेत गुमाएका बाढीपीडितहरु क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । कोसी सम्झौताअनुसार भारतीयपक्षले पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध नगराएको भन्दै पीडितहरुले शनिबारदेखि कोसी ब्यारेजमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन् । उनीहरुले रिले अनशनसमेत सुरु गरेका छन् । सप्तकोसीमा ब्यारेज निर्माण गर्नुअघि नै नेपाल र भारतबीच कोसी सम्झौता गरिएको थियो । तत्कालीन राजा महेन्द्र र भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले सम्झौतामा हस्ताक्षर गरेका थिए । ब्यारेज बनेपछि घरखेत गुमाएका परिवारलाई भारत सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने सम्झौता गरेपनि हालसम्म घरखेत गुमाएका १५ हजारभन्दा बढी परिवारले क्षतिपूर्ति नपाएको कोसीपीडित संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीको भनाइ छ । सम्झौताअनुसार पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति उपलब्ध नगराएसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ । शनिबार उनीहरु सुनसरी, सप्तरी र उदयपुर जिल्लाबाट विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सयौंको संख्यामा कोसी व्यारेजमा उपस्थित भएका थिए । विरोध कार्यक्रममा उपस्थित सत्तारुढ दल नेकपाका प्रदेश नम्बर-२ का इन्चार्ज तथा संसदीय दलका नेता सत्यनारायण मण्डलले पीडितलाई भारतीयपक्षबाट तत्काल क्षतिपूर्ति दिलाउन नेपाल सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

औजार : आजको औजार दैनिकमा “मोरङमा १० हजार बिरुवा रोप्ने अभियान शुरु” शीर्षकको समाचार छापिएको छ । मोरङ व्यापार संघले १० हजार बिरुवा रोप्ने अभियान शुरु गरेको छ । ३१ साउनमा कटहरी गाउँपालिका स्थित सूर्यदलगण थलाहा व्यारेकमा एक हजार बिरुवाहरु रोपेर मारेङ व्यापार संघले अभियान सुरु गरेको हो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “भोजपुरमा बलात्कार आरोपमा एक पक्राउ” शीर्षकको समाचार छापिएको छ । भोजपुरबाट बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । धनकुटाको छथर जोरपाटी गाउँपालिका-४ टेलीयाका ३१ वर्षीय योगेन्द्र बहादुर विकलाई अरुण गाउँपालिका-७, की १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । विकले गएको साउन २८ गते राति जनश्रम प्राथामिक विद्यालय जरायोटारमा लगेर बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । विकले बालिकालाई विवाह गर्ने बहानामा बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बालिकाको जिल्ला अस्पताल भोजपुरमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका विकमाथि जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।