धरान: सिटिइभिटिको फाइनल परीक्षा दिइरहेका विद्यार्थी पक्राउ परेको र उनीहरुलाई चिट चोराउन आफ्नो कर्मचारी संलग्नताको बिषयमा धरानको सुनसरी टेक्निकल कलेजले जिम्मेवारी नलिने जनाएको छ ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक लेखीराज सुब्बाले आइतबार एक विज्ञप्ती जारी गर्दै चिट चोरेको आरोपमा पक्राउ परेका विद्यार्थीहरु र संलग्न भनिएका कर्मचारी किरणराज भण्डारी आफ्नो कर्मचारी भएपनि घटनाको जिम्मेवारी भने नलिने जनाएका हुन् । यद्यपी उनले घटनामा संलग्न भनिएका कर्मचारी भण्डारीलाई कलेजबाट बर्खास्त गरिएको पनि जानकारी दिएका छन् । ‘कलेजको एक कर्मचारी र विद्यार्थीको मिलेमतोमा भएको भनिएको अमर्यादित र अनशासन विपरीत कार्यको कलेजले भत्र्सना गर्दै जिम्मेवारी नलिने पनि यसैविज्ञप्तीमार्फत जानकारी गराउदछौं, घटनामा संलग्न भनिएका कर्मचारीलाई कलेजले कारबाही स्वरुप बर्खास्त गरेको समेत जानकारी गरादछौं,’विज्ञप्तीमा भनिएको छ,‘आफुले जानको ज्ञान र क्षमतालाई प्रस्तुत नगरी चिट चोर्ने र चोराउने कार्य आफैमा निन्दनीय र अमर्यादित कार्य हो ।’

अध्यक्ष सुब्बाले प्रहरीको घेराभित्र भएको परीक्षामा सिटिइभिटिको उत्तरपुस्तिका र प्रश्नपत्र कसरी बाहिर गयो भन्दै प्रश्न पनि गर्दै उत्तर पुस्तिकाहरु पुनः कसरी परीक्षा हलमा पुग्यो भन्दै प्रश्न पनि गरेका छन् । ‘परीक्षा हलमा बाहिरबाट सिंगो उत्तरपुस्तिका पुग्दा परीक्षामा खटिएका केन्द्राध्यक्ष, सिटिइभिटिका बाह्य सुपरीवेक्षक, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि र इलाका प्रशासनका प्रतिनिधि साथै परीक्षा हलमा खटिएका निरीक्षकहरु कहाँ गएका थिएँ ?’विज्ञप्तीमा भनिएको छ,‘हामी सिटिईभिटि, परीक्षा केन्द्राध्यक्ष, सुरक्षा निकायमा खटिएका सुरक्षाकर्मी र अन्य महानुभावहरुसँग यसको चित्तबुझ्दो जवाफको अपेक्षा गर्दछौं ।’

सिटिइभिटिले साउन २९ गते लिएको डिप्लोमा इन फार्मेसीअन्र्तगतको केमेष्ट्री बिषयको परीक्षामा चिट चोरी गरेको आरोपमा कलेजका ११ जना विद्यार्थी पक्राउ परेका छन् भने ५ जना अझै फरार छन् । उनीहरुलाई बाहिरबाट रेडिमेड उत्तरपुस्तिका उपलब्ध गराउन कलेजका कर्मचारी भण्डारीको प्रमुख भुमिका रहेको खुलेको थियो । उनी पनि फरार छन् ।

Press-Release-(1)