ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सुन गोहोरोसहित एक पक्राउ” शीर्षकको समाचार छापिएको छ । सङ्कटापन्न एवम् लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको अवैध रुपमा हुने ओसार पसार र व्यापारलाई नियमन गर्न बनेको संस्था साइटिसको पहिलो नम्बरमा रहेको संरक्षित घस्रने वन्यजन्तु सुन गोहोरो भारततिर तस्करी हुने गरेको पाइएको छ । तराई क्षेत्रको खेतबारी र कुलोमा बस्ने सुन गोहोरो मोरङको दक्षिणीभेगबाट भारततिर तस्करी हुने गरेको हो । इलाका प्रहरी कार्यालय रङ्गेलीले करीब १ केजी तौल भएका १२ वटा सुन गोहोरोसहित एक जनालाई पक्राउ गरेपछि यस्तो खुलेको छ । मोरङ सुनवर्षी नगरपालिका ८ स्थित डायनिया–सिकटी सडक–खण्ड अन्तर्गत डायनिया छोटी भन्सार कार्यालयअगाडिबाट प्रहरीले पथरीशनिश्चरे नपा ६ का ५९ वर्षीय जसबहादुर धिमाललाई पक्राउ गरेको हो । प्रहरीले उनलाई साइकलमा लोड गरेको अवस्थामा १२ थान सुन गोहोरोसहित शनिबार पक्राउ गरेको थियो । सङ्कटापन्न वन्यजन्तुको सूचिमा पर्ने सुन गोहोरो तस्करले भारत पुर्याउँदा महँगो मूल्यमा बिक्री हुने गरेको छ । पहेँलो र छिरबिरे रङ हुने भएकोले सुन गोहोरोको छाला डमरुमा प्रयोग हुने जानकारीहरुले बताएका छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “अण्डर १६ कोलकत्ता प्रस्थान” शीर्षकको समाचार छापिएको छ । भारतको कोलकोत्तामा बुधबारदेखि हुन लागेको अण्डर १६ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टिमको विदाई गरिएको छ । इटहरीमा गत साता आएको राष्ट्रिय टिमलाई एक साता लामो बन्द प्रशिक्षणपछि आइतबार बिदाई गरिएकोहो । एन्फा सुनसरीले इटहरीमा एक कार्यक्रमको आयोजना गरी अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माटिबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतका पदाधिकारीले टोलीको विदाई गरेका हुन् । एन्फा सुन्सरी अध्यक्ष केशव कार्कीका अनुसार एक साता लामो इटहरीको बन्द प्रशिक्षणपछि अण्डर १६ राष्ट्रिय फुटबल टिम आज सोमबार कोलकोता प्रस्थान गर्ने छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “पैसा लिएर पतिको हत्यारा जोगाउँदा...” शीर्षकको समाचार छापिएको छ । पतिको हत्यारालाई कानुनको कठघरामा ल्याउनुको साटो उल्टै पैसा लिएर घटना लुकाएको अभियोगमा भोजपुर प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । त्यस्तै अर्को घटनामा गाई चोरेको कुरा गाइधनीलाई सुनाइदिएको निहुँमा एक महिलाको हत्या भएको छ । प्रहरीले यी दुबै जघन्य अपराधमा संलग्न रहेको अभियोगमा अभियुक्तहरुलाई पक्राउ गरेको छ । हत्याराबाटै पैसा लिएर घटना लुकाएको अभियोगमा भोजपुर ४ की मिना मिजार कार्की पक्राउ परेकी हुन् । उनीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले जघन्य प्रकृतिका घटनाहरुमा संलग्न व्यक्तिहरुलाई पछिल्लो समय पक्राउ गर्ने क्रम तीब्र पारेको छ ।

औजार : आजको औजार दैनिकमा “कृषि उत्पादनले बदलिदै राँके बजार” शीर्षकको समाचार छापिएको छ । इलाम र पाँचथरको सिमावर्ती राँके बजारको परिचय फेरिदै अहिले कोशेली बजारका रूपमा स्थापित हुँदै गएको छ । यात्रुको मन रसाउने र आखाँ तानिने गरि सजाएर लहरै राखिएका खुर्सानीका बट्टाहरु सडक पेटीमा देख्न सकिन्छ । यस ठाउँमा अकबरेको अफ सिजनको बेलामा पनि १० हजार हाराहारीको कारोवार हुने व्यवसायी बताउँछन । सिजनमा दिनको ५०–६० हजार रुपैयाँसम्मको खुर्सानी बेच्ने गर्छन भने अहिले अफ सिजन हो । यतिबेला पनि १० हजार जतिको बिर्की हुने गरेको पाइन्छ । इलामको एकतप्पा, आमचोकदेखि पाँचथरका पौवा सार्तापलगायतका गाउँका किसानको लागि राँके मुख्य बजार हो । ताप्लेजुङ्गको पाथिभरा घुम्न जानेको संख्या बाक्लिएपछि राँकेमा व्यापारको सिजन हुुन्छ । पाथीभराबाट फर्किएका धेरैजसोले राँकेबाट अकबरे, ध्यू, छुर्पी, ललिपप लगायतका परिकार कोशेलीको रुपमा लिएर फर्किने गरेका छन् ।