केरला : '१२ वर्ष’लाई इतिहासमा एउटा बिम्बका रुपमा लिइन्छ । नेपालीमा त अझ एउटा उखानै छ-‘१२ वर्षमा बगेको खोलो पनि फर्कन्छ’ ।

‘१२ वर्ष’लाई प्रकृतिले पनि खास महत्व दिएको पाइन्छ । यसको एक उदाहरण हो - १२ वर्षमा एकपटक फूल्ने फूल । भारतको केरलस्थित मुन्नारमा यो एक प्रजातिको फूल १२ वर्षमा एक पटक फूल्छ । फूल फूलेपछि वातावरण नै मनमोहक तुल्याउँछ । समुद्र सतहबाट एक हजार ६०० मिटरभन्दा बढी उचाईमा रहेको पहाडी क्षेत्रमा यो फूल फूल्ने गर्छ । फूल फूल्ने समयमा पर्यटकको चहपहल पनि निकै हुने गर्छ । ‘नीलकुरिन्जी’ नामक उक्त फूल फूल्ने फूल्ने समयमा पहाडले नै कपडा फेरेको भान हुन्छ । ‘नीलगिरी’ पर्वतको नाम यसै फूलका नामबाट राखिएको बताइन्छ ।

यसअघि यो फूल सन् २००६ मा फूलेको थियो । १२ वर्ष पूरा भएसँगै सन २०१८ मा पुनः यो फूल फूलेको हो । सन् २००६ मा यो फूल फूलेको मौसममा करिब ३ लाख पर्यटकले सो क्षेत्रको अवलोकन गरेको बताइन्छ । यो फूल अगस्ट महिनाबाट फूल्न थाल्छ भने नोभेम्बरबाट यसको सिजन सकिन्छ ।