ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “नगरपालिकाका काम एक सातादेखि ठप्प” शीर्षकको समाचार छापिएको छ । मोरङको उर्लाबारी नगरपालिकाको चौथो नगरसभाका निर्णयहरु विधिसम्मत नभएको भन्दै अदालतले तत्काल निर्णयहरु कार्यान्वयन नगर्न आदेश दिएपछि एक सातादेखि नगरपाििलकाका मुख्य काम ठप्प छन् । नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीसहित १३ जना कार्यपालिका सदस्यले चौथो नगरसभाका निर्णयमाथि रोक लगाउन माग गर्दै रिट हालेपछि उच्च अदालत विराटनगरले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । जनप्रतिनिधिहरुले नै कार्यपालिका बैठक विधिसम्मत नभएको भन्दै नगरप्रमुख खड्ग फागो, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद भट्टराई, वडाध्यक्षहरु कुमर कडेल, गञ्जबहादुर कार्की, भानुभक्त शर्मा पराजुली, चिन्तामणि पौडेल र बीरबल थापाविरुद्ध रिट निवेदन दिएका थिए । अदालतको आदेशपछि नगरपालिकाले मङ्गलबारदेखि नगरसभाको निर्णयमा उल्लेख भएका कर, राजश्व, जरिवाना, सेवा शुल्क, मालपोतसहितका विविध आम्दानी तथा र विनियोजन ऐन प्रशासनिक खर्च, तलब भत्ता, योजना, विकास, दायित्व तथा भुक्तानीसँग सम्बन्धित कार्यमा रोक लगाएको छ भने जन्म, मृत्यु, विवाह बसाईसराई र स्वास्थय सेवाका सिफारिसका कार्यहरु मात्र गर्दै आएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “दुबई पठाइदिने भन्दै ७ जनाबाट १२ लाख लिएर सम्पर्कविहीन” शीर्षकको समाचार छापिएको छ । वैदेशिक रोजगारीमा दुवई पठाइदिने भन्दै ७ जनाबाट लाखौँ रुपैयाँ उठाएर एक व्यक्ति फरार भएका छन् । सुनसरीको हरिनगरा गाउँपालिका–४ का ३५ वर्षीय गिरेन्द्र साह तीन महिनादेखि फरार भएका हुन् । आकर्षक आम्दानीको लोभ देखाएर सात जना युवासँग प्रति व्यक्ति एक लाख ७० हजार रुपैयाँ लिएर साह फरार भएको पीडितहरुले बताएका छन् । सात जनाबाट ११ लाख ९० हजार उठाएर साह तीन महिनादेखि सम्पर्क्विहीन छन् । साहले सुनसरीकै हरिनगरा–४ का गन्नु मण्डल सरवरिया, अनिलकुमार मण्डल, इन्द्रदेवकुमार मण्डल, महेशकुमार मेहता, महेशप्रसाद मेहता, रौदी महतो र सञ्जय मण्डलबाट पैसा उठाएका थिए । साहले रकम असुलेको बारेमा पीडित युवाहरुले श्रम तथा रोजगार कार्यालय विराटनगरका उजुरी दिएका छन् । कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले कार्यालयले साहका नाममा पक्राउ पूर्जी जारी गरेर खोजीका लागि प्रहरी परिचालन गरेको बताए । सञ्जेलले आर्थिक अवस्था कमजोर भएका युवा विदेश जान खोजेको र उनीहरुबाट त्यही मौकामा रकम उठाएर ती ब्यक्ती फरार भएको पुष्टि गर्नुभयो । सबै प्रमाणका आधारमा ठगी गरेको पुष्टि भएपछि साहलाई पक्राउ गरेर कानुन अनुसार कारबाही अघि बढाइने उहाँको भनाइ छ । वैदेशिक रोजगारीका लागि गएको वैशाख ७ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलसम्म पुगेर आफूहरु फिर्ता आउनु परेको युवाहरुले दिएको उजुरीमा उल्लेख गरिएको छ । पर्यटक भिसामा वैदेशिक रोजगारीका लागि जान लागेको भन्दै विमानस्थलले फिर्ता गरिदिएको पीडित मध्येका एक गन्नु मण्डल सरवरियाले बताए । त्यसपछि सबैको राहदानी लिएर साह सम्पर्क्विहीन भएको उनले जानकारी दिए । यता, युवाहरुले आफूहरुबाट उठाएको रकम फिर्ता हुनु पर्ने माग गर्न थालेपछि ठगीमा संलग्न साहका बुवा रामफल साहले जिल्ला अदालत सुनसरीमा पीडितहरुविरुद्ध उजुरी दिएका छन् । पैसा फिर्ता गर्न विभिन्न धाकधम्की दिएको भन्दै उनले मुद्दा दायर गरेका हुन् । सबैले अदालतमा उपस्थित भएर प्रतिउत्तर फर्काउने काम गरिसकेको पीडित युवाहरुले बताएका छन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “कुलमानविरुद्ध खनिँदै उद्योगी” शीर्षकको समाचार छापिएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापारसंघका पदाधिकारी विधु प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङविरुद्ध खनिएका छन् । लो भोल्टेज र ट्रिपिङको समस्याले हैरान बनेका उद्योगीले सोमबार प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई भेटेर विधुत् समस्या समाधान गर्न जोड दिए । “झ्याप्प–झ्याप्प दर्जनौं पटक बिजुली जाने र आउने गर्छ, चट्याङ परेको हो कि के हो ?”, मोरङ व्यापार संघका पूर्वध्यक्ष पवन सारडाले भने, “विधुत् प्राधिकरणको काम ७ अर्ब कमाउने मात्रै होइन, सरकारी संस्थान भएको कारण सेवा पनि प्रभावकारी हुनुपर्छ ।” यस्तै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले कुलमान घिसिङले भनेजस्तो विधुत्सेवा प्रभावकारी नभएको भन्दै उनले आक्रोश व्यक्त गरे ।

उद्घोष : आजको उद्घोष दैनिकमा “युवकमाथि निर्घात कुटपिट” शीर्षकको समाचार छापिएको छ । मोरङको बुढीगंगा गाउँपालिका ४ पोठियाका एक युवामाथि फिल्मी शैलीमा कुटपिट भएको छ । चार दिनअघि भएको कुटपिटको घटना आइतबार मात्र बाहिर आएको हो । मोबाइल चोरीको आरोपमा बुढीगंगा गाउँपालिका ४ पोठियाका १७ वर्षीय मोहम्मद नौंसाद मियाँमाथि निर्घात कुटपिट भएको हो । नौसादमाथि बुढीगंगा ४ कै २२ वर्षीय सादीर मियाँ, २० वर्षीय अंसद मियाँ, १८ वर्षीय अफजल मियाँ र बुढीगंगा ५ का २१ वर्षीय आकिप मियाँले फिल्मी शैलीमा नियन्त्रणमा लिई २ घण्टासम्म पेटी, लात्ती र मुक्काले कुटपिट गरेको प्रहरीले जनाएको छ ।