धरान: धरानलाई हरियाली बनाइ वातावरणमा सुधार ल्याउने उद्देश्यका साथ धरानमा रहेको सामाजिक संस्थाले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

धरान १२ चतरालाइन स्थित पब्लिक हाइस्कुलको हाताभित्र आज मंगलबार वृक्षारोपण गरिएको हो । धरानमा रहेको सामाजिक संस्था मानवता बचाउ नेपाल(सेभ द ह्युम्यानिटिज) र लियो क्लब अफ धरान बुढासुब्बाको संयुक्त आयोजनामा असोकको ३१ वटा बिरुवा रोपिएको हो । दुवै संस्थाले करीब १२ देखी १३ हजारको लागतमा उक्त बिरुवा खरिद गरेको जनाएको छ । वृक्षारोपण कार्यक्रम बिहान ७ भएको थियो । वृक्षारोपण पश्चात तार जाली लगाइ बिरुवाको सुरक्षा समेत गरिएको छ ।

कार्यक्रममा पब्लिक हाई स्कुलका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हरी बहादुर कार्की रहेका थिए भने विशेष अतिथिमा विद्यालयका प्रधानाध्यापक इन्द्र मोहन झा रहेका थिए । साथमा लियो तथा लायन्स क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मानवता बचाउ नेपालका उपाध्यक्ष सञ्जोग राईको सभापतित्वमा सम्पन्न भएको थियो ।

मानवता बचाउ नेपालको सचिव सुमन लिम्बुका अनुसार संस्थाले उक्त बिरुवाको एक वर्षसम्म संरक्षण गर्नेछ । सामाजिक संस्था मानवता बचाउ नेपालले बालबालिका ,वृद्धवृद्धा ,गरिब र असहायलाई सहयोग गर्दै आएको छ । सो संस्थाले सामाजिक क्षेत्रमा समेत विभिन्न कार्य गर्दै आएको छ ।