ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “बीपी प्रतिष्ठानको अक्सिजन प्लाण्ट बन्द” शीर्षकको समाचार छापिएको छ । सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लाण्ट बिग्रिएपछि अस्पतालमा अक्सिजन अभाव भएको छ । प्रतिष्ठानको अक्सिजन प्लाण्टले एक महिनादेखि अक्सिजन उत्पादन गर्न सकेको छैन । ६ महिना अघि मात्र ३ करोड २४ लाख रुपैया खर्चेर जडान गरेको नयाँ प्लाण्ट पटक पटक विग्रदै आएपछि अक्सिजन अभाव भएको हो । हाल प्रतिष्ठानले खनारस्थित दुर्गा अक्सिजन प्लाण्टबाट सिलिण्डर किनेर चलाईरहेको छ । तर सो प्लाण्टले पनि पर्याप्त अक्सिजन सिलिण्डर उपलव्ध गराउन नसकेपछि प्रतिष्ठानको विरामी बस्ने वार्डमा आपुर्ती गर्न नसकेको श्रोतले जनाएको छ । जसका कारण अक्सिजन अनिबार्य चाहिने विरामीलाई वार्डमा भर्ना गर्न नसकिएको एक चिकित्सकले बताए । उनले भने, ‘अक्सिजन अभावले वार्डमा भर्ना नै बन्द गर्नु परेको छ । भर्ना गर्दा अक्सिजन चाहिन्छ, तर पर्याप्त अक्सिजन आपुर्ती हुन सकेको छैन ।’ प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. डा. गुरु खनालले भने विग्रेको अक्सिजन प्लाण्ट मर्मत गर्न दुइसाता देखि प्रयास गरिरहेको बताए। युनिषि इण्डिया र नेपालको डाइग्नो केनले प्रतिष्ठानमा अक्सिजन प्लाण्ट जडान गरेका थिए् । जडान गरेलगत्तै विग्रेपछि युनिषी इण्डियालाई दायित्व बोध गराउन दवाव दिनका लागि प्रतिष्ठानले भारतीय दुताबासलाई फेरि पत्राचार गर्ने तयारी गरेको श्रोतले जनाएको छ । 

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “महेन्द्रराजमार्गको खाडल पुरः लेखा समिति” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को सार्वजनिक लेखा समितिले राजमार्गमा परेका ठूला खाडल ठेकेदारबाट पुनः मर्मत गराउन सडक कार्यालयलाई निर्देशन दिएको छ । निर्माण गर्न जिम्मेवारी दिएको कम्पनीबाट गुणस्तरीय काम नभएको भन्दै लेखा समितिमा निवेदन परेपछि समितिले छानविन अघि बढाइएको थियो । समितिका पदाधिकारीसहितको टोलीले महेन्द्रमार्गको दुहवी–इटहरी–गछिया–खोर्साने खण्डमा स्थलगत अनुगमनसमेत गरेको थियो । सार्वजनिक लेखा समितिका सभापति शिवनारायण सिंह गन्गाईले मङगलबारको बैठकमा डिभिजन सडक कार्यालय विराटनगरका प्रमुखबाट गराइएको ठेक्का प्रक्रियाका कागजात हेरेर सडक कार्यालयका प्रमुख शुभराज न्यौपानेसँग छलफल गरेका थिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “जबरजस्ती करणी गर्ने पुर्पक्षका लागि जेल” शीर्षकको समाचार छापिएको छ । जबरजस्ती करणी उद्योगमा पक्राउ परेका सुनसरी धरानका एक युवा पुर्पक्षका लागि जेल चलान भएका छन् । धरान वडा नं. ४ का २४ वर्षे पप्पु भन्ने प्रकाश गजमेर जिल्लाका मुख्य न्याधिश राधाकृष्ण उप्रेतीको मङ्गबारको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका हुन् । उनले साउन ८ गते धरान वडा नं. ८ कै १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । गाउँकै बालिकालाई अनेक प्रलोभनमा पारेर जबरजस्ती करणी उद्योग गरेको प्रह रीले जनाए । सुनसरीमा बर्षेनी जबरजस्ती करणी घटना बढेको बढ्यै छन् । आर्थिक वर्ष २०७५–७६ मा मात्र १०५ वटा जबरजस्ती करणीका मुद्दा दायर भएका छन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “गुट र गिरोहले कांग्रेस कमजोर” शीर्षकको समाचार छापिएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टी भित्र संस्थागत हुँदै गएको गुट, उपगुट र गिरोहले कांग्रेस इतिहासकै कमजोर पार्टी बन्दै गएको टिप्पनी गरेका छन् । पार्टीभित्र द्धन्द्ध छ, यो कसैलाई छुपाइरहनु पर्दैन, कोइरालाले कार्यकर्तालाई खुलासा पार्दै भने, यो द्धन्द्धको अन्त्य नभएसम्म पार्टी र लोकतन्त्र नै कमजोर भएर जान्छ । गुटभित्रको लडाईलाई कसै कसैले विचारको लडाइ भन्दै टिप्पनी गरेपनि आफूले यसलाई गुट र गिरोहको लडाइ सम्झेको उनको कथन छ ।