काठमाण्डौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार फेरि सिंगापुर जाने भएको छ । मंगलबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेको बताएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘डाक्टरहरुको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जान लाग्नुभएको हो’ उनले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य छ ।’ बैठकमा उपस्थित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिंगापुरस्थित नेशनल युनिर्भ्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराइ साउन २७ गते स्वदेश फर्केको थियो । त्यतिबेला नै डाक्टरहरुले नयाँ औषधि चलाएर हेर्नुपर्ने बताएका थिए । तर ओलीले देशमा राजनीतिक व्यवस्थापन गर्नुपर्ने भन्दै छिटै उपचारमा फर्किने वचन दिएर डाक्टरसँग बिदा हुनुभएको र डाक्टरले दिएको सल्लाहअनुसार नै उहाँ फेरि स्वास्थ्य परीक्षणको लागि जान लाग्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पनि डाक्टरहरुको परामर्शकै आधारमा प्रधानमन्त्री उपचारका लागि सिंगापुर जान लागेको स्पष्ट पारे । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुको मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री यादवले प्रधानमन्त्रीको उपचारमा संलग्न डाक्टरहरुकै सल्लाहमा उनको सिंगापुरमा उपचार गर्न लागिएको बताए । प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।