ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “ओपिडी सेवा निःशुल्क दिने स्वास्थ्य केन्द्र” शीर्षकको समाचार छापिएको छ । सामान्यतः ओपिडी सेवा पनि निशुल्कभन्दा अचम्म लाग्ला ? बराहक्षेत्र नगरपालिका २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भने ओपिडीसमेत निशुल्क गर्दै विरामीको उपचार गर्ने गरिएको छ । हेल्थपोष्टबाट स्तरोन्नति भएको केन्द्रमा ३ सय ५६ दिन खुला रहने आकस्मिक कक्ष, वार्ड, एक्सरे, ल्याव र निशुल्क ओपिडी सेवासहितको अस्पताल सेवा सञ्चालनमा आएको छ । सरकारले सञ्चालन गरेका गाउँ वा शहरका प्राथमिक स्वास्थ्य केन्द्रहरु १०–५ मात्र खुल्छन् । निशुल्क ओपिडी सेवा, आकस्मिक सेवा दिदैनन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “मुख्यमन्त्री कप फुटबल लिग विवाद” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ मा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताबारे छानविन गरिरहेको सार्वजनिक लेखा समितिले प्रतियोगिताको प्राविधिक विषय सामाजिक विकास समितिलाई छानबिन गर्न दिने निर्णय गरेको छ । छानबिनका क्रममा समितिले आयोजक अखिल नेपाल फुटबल संघ सँग मगाएका बिल तथा भौचरसहितका विवरण अध्ययन गर्न प्रदेश लेखा नियन्त्रण कार्यालयलाई जिम्मा दिएको छ । समितिको बुधबार बसेको बैठकलाई सामाजिक विकास समितिलाई प्रतियोगिताको सबै प्राविधिक पक्ष छानबिन गर्न र लेखा नियन्त्रण कार्यालयलाई खर्च विवरण “अडिट” गर्न जिम्मा दिइएको लेखा समितिका सभापति शिवनारायण सिंह गन्गाईले जानकारी दिएका छन् । गन्गाईका अनुसार एन्फाले आफ्नो कोषबाट रु ३३ लाख विभिन्न क्लबलाई दिएको विषयमा समेत समितिले अध्ययन थालेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “रौतामाई र लिम्चुङबुङबासीको पीडाः खाद्यान्न संकटले समस्या” शीर्षकको समाचार छापिएको छ । महिनादिन अघिको अविरल वर्षापछि गएको पहिरोले तहसनहस पार्दा सडक सम्बन्ध टुटेको उदयपुरका माथिल्ला पहाडी भेगका रौतामाई र लिम्चुङबुङ गाउँपालिकाबासी खाद्यान्न संकटमा परेका छन् । जताततै पहिरो गएर प्राकृतिक नाकाबन्दीमा परेका गाउँपालिकालाई बजारसँग जोड्ने सडक अवरुद्ध हुदाँ गाउँमा खाद्यान्न ढुवानी रोकीदाँ गाउँलेमा भोकमरीको समस्या आइपरेको हो । गाउँलाई यातायात सम्बन्ध जोड्न गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको फोक्सिन्टारदेखि रसुवा हुँदै चनौटेसम्मको खण्डमा भत्के बिग्रेको सडक मर्मत कार्य मंगबारदेखि गाउँपालिकाले सुरु गरेको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “विश्वविद्यालयभित्रबाटै पदाधिकारी बनाउ” शीर्षकको समाचार छापिएको छ । पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले बाहिरबाट उपकुलपति तथा रजिष्ट्रार नल्याउन चेतावनी दिएका छन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासको कार्यअवधि सकिन केही दिन मात्र बाँकी रहँदा बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै कर्मचारी संघ र प्राध्यापक संघले आयातित उपकुलपति र रजिष्ट्रार नल्याउन भनेका हुन् । उनहीहरुले ‘हामी हाम्रो विश्वविद्यालय बनाउन सक्छौँ’ भन्दै बाहिरका मान्छे नल्याउन चेतावनी दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको २५ औँ वर्ष पूरा भैसकेको अवस्थामा अहिलेसम्म आन्तरिक रुपमा नेतृत्व पाउन नसकेको आरोप लगाउँदै विश्वविद्यालय कर्मचारी संघका सभापति राजकुमार सापकोटाले अबको नेतृत्व विश्वविद्याल भित्रैबाट छान्न दबाब दिए । कर्मचारी संघका सभापति सापकोटाले बाहिरबाट ल्याइएका उपकुलपति तथा राजिष्ट्रार उत्तरदायी नहुने गरेको बताए । विश्वविद्यालयलाई अनुसन्धानको थलो बनाउन नसकेर भाँडभैलो र अस्तव्यस्त बनाएको उनले आरोप लगाए । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. सन्देशदास श्रेष्ठले २५ वर्षसम्म केही उल्लेख्य प्रगति नहुनुले आन्तरिक नेतृत्वले विश्वविद्यालयलाई अगाडि बढाउँदै शैक्षिक गतिविधि गर्न सक्ने बताए । अहिले पूर्वाञ्चल विश्वविद्यालयभित्र ७ जना प्राध्यापक र १९ जना सह–प्राध्यापक रहेकोले उनीहरुमध्येबाट नै उपकुलपति तथा रजिष्ट्रार नियुक्त गर्नु पर्ने उनको भनाइ छ । पूर्वाञ्चल विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री रहने व्यवस्था रहेको छ भने सह–कुलपतिमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री रहने व्यवस्था गरिएको छ । राजनीतिक नियुक्ति हुने भएकोले यहाँको नियुक्तिको विषयमा विभिन्न समयमा प्राध्यापकहरुले यो मागलाई उठाउँदै आएको भए पनि अहिलेसम्म बाहिरबाट प्राध्यापक ल्याएर उपकुलपति बनाउने गरिएपछि उनीहरुले आन्तरिक रुपमा नै उपकुलपति बनाउन माग गरेका हुन् । उपकुलपतिको कार्यकाल सकिन लागेको अवस्थामा गरिएको पत्रकार सम्मेलनको क्रममा प्राध्यापक संघका सभापति श्रेष्ठले ‘फलाम तातेको बेला हान्यो भने मात्र आकार दिने’ भएकोले अहिले यो प्रक्रियाको विषय छलफलमा भैरहँदा आफ्ना कुराहरु सार्वजनिक गरिएको बताए । अहिलेसम्म नियुक्त भएर आएका उपकुलपतिलाई ६ महिना त विश्वविद्यालयलाई बुझ्न नै लाग्ने गरेको उनको भनाइ छ । प्राध्यापक संघका पूर्व सभापति दिनेशराज सुवेदीले पदाधिकारी नियुक्तिको विषय आर्थिक लेनदेन र चलखेलबाट सुरु हुने गरेको आरोप लगाए ।