धरान: प्रदेश नं १ का सभामुख प्रदीप भण्डारीले सँस्कृतिकोरुपमा रहेको तिजलाई भड्किलो नबनाउन आग्रह गरेका छन् ।

धरान १२, छाताचोकमा बिहिबार महिला सञ्जाल धरानले आयोजना गरेको तिज बिशेष महिला उद्यमी मेलाको उद्घाटन समारोहमा बोल्दै सभामुख भण्डारीले यस्तो आग्रह गरेका हुन् । उनले नेपालका महिलाहरुको सँस्कृति तिजलाई सामान्यस्तरका महिलाले पनि खुलेर मनाउन सक्ने वातावरण सृर्जना गर्न महिलाहरुलाई आग्रह गरे । ‘तिज भड्किलो बनाउन हुदैन, निम्तस्तकार महिलाले पनि मेरो तिज भन्ने महसुस हुनुपर्छ,’सभामुख भण्डारीले भने ।

विगतमा आर्य समुदायका महिलाहरुमा सिमित रहेको तिज पछिल्लो समय सबैको लागि साझा चाड भएको उल्लेख गर्दै यसरी नै सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै समाजमा अघि बढ्नुपर्ने धारणा राखे । ‘सामाजिक सद्भाव, साहिष्णुता कायम भएकोछ, यसरी नै अघि बढ्नुपर्छ । सामाजिक एकता, विविधताबीचको एकता हामी नेपालीको मौलिकपन हो,’सभामुख भण्डारीले भने ।

umita-baraile

सभामुख भण्डारीले कानुनीरुपमा नेपालका महिलाहरुले धेरै अधिकार पाएपनि समाज पुरातनवादी सोचबाटै अघि बढीरहेकोले महिललाई धेरै समस्या भइरहेको बताए । नेपालमा लैंगिकमैत्री संविधान, कानुन मात्र नभैं नीति, कार्यक्रम र बजेट पनि लंैगिकमैत्री हुनुपर्ने सभामुख भण्डाीले बताए । यस्तै, प्रदेश सभा सदस्य उमिता बराइलीले महिलाहरुलाई आर्थिकरुपमा सम्पन्न हुन धेरै चुनौती रहेको धारणा राख्दै उद्यमशील महिलाहरुको उत्पादनलाई बजार व्यवस्थापन पनि गर्नपर्ने बताइन् । ‘महिलाहरुले घरव्यवहार पनि हेर्नुपर्छ, र बाहिर पनि हेर्नुपर्छ । त्यसैले आर्थिकरुपमा सम्पन्न हुन निक्कै चुनौती छ,’उनले भनिन्,‘यो कार्यक्रम आइस बेक्र हो ।’

यस्तै, कार्यवाहक मेयर नरेश इवारमले उपमहानगरले हरेक वडामा महिलाहरुलाई उद्यमशील बनाउन थुप्रै तालिम दिए पनि उद्यमी मेलामा उत्पादन नदेखिएको भन्दै अब उपलब्धीमुलकरुपमा मात्र बजेट लगानी गर्नुपर्ने बेला भएको बताए । कार्यक्रममा नेकपा धरान उपमहानगर कमिटीका अध्यक्ष नारायण सुवेदीले महिलाहरु उत्पादनसँग जोडिए मात्र अब आर्थिक समृद्धि सम्भव भएको बताए । कांग्रेस जिल्ला सचिव सुजेन्द्र तामाङले सरकारले महिलाहरुलाई उद्यमी बनाउन नीति, कार्यक्रम नै ल्याउनुपर्ने बताए । सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले पनि महिलाहरुको उत्पादनलाई प्रर्वद्धन गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।