ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “मृत व्यक्तिका नाममा भर्पाइ गरी रकम निकासा” शीर्षकको समाचार छापिएको छ । सरकारले झापालाई धान उत्पादनको सुपरजोन जिल्ला घोषणा गरेको छ । सोहीअनुसार किसानलाई धान उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम समेत अघि सारेको छ । यसै कार्यक्रमअन्तर्गत किसानलाई चैते धानको मूल्य नपाएका कारण सरकारले वितरण गरेको अनुदानमा चरम अनियमितता भएको खुलासा भएको छ । कृषि ज्ञान केन्द्र झापामार्फत् आएको २० लाख ३१ ह्जार रुपैयाँसमेत वास्तविक किसानले नपाएको गुनासो आएपछि यो अनियमितता बाहिरिएको हो । किसानका नाममा आएको रकम केही मृत्यु भइसकेको व्यक्तिका नाममा बुझेको भर्पाइ गराइएको छ । एउटै प्रकृतिका किसानलाई पनि अनुहार हेरेर फरक फरक दरमा रकम वितरण गरिएको पाइएको छ । गत २०७५ सालको चैते धान उत्पादन गरेका किसानले उचित मूल्य नपाएको गुनासो गरेपछि सरकारले अनुदानस्वरुप जिल्ला कृषि ज्ञान केन्द्र झापामार्फत् रकम निकासा गरिएको थियो । ज्ञान केन्द्रले वडा कार्यालयको स्वीकृतिमा कन्काई सिंचाइ योजनाले क्लस्टरमार्फत् ३ सय १५ जना किसानको धनीपूर्जाको फोटोकपी संकलन गरेको थियो । सरकारले प्रतिविगाहा ६ हजार ६ सय ६६ रुपैयाँ उपलब्ध गराएको थियो । यसमा मानिस हेरी कसैलाई १२ सयदेखि ४ हजार ५ सयसम्म र कसैलाई ५ हजार ५ सयगरी मनपरी तरिकाले वितरण गरिएको बताइएको छ । प्रदान गरेको रकम पनि वास्तविक किसानले नपाएको गुनासो झापाको गौरादह नपा ९ का बाबुराम बस्नेतले गरे । झापा गौरीगञ्ज गाउँपालिका वडा नं. २ कोरोबारीका किसान श्याम न्यौपानेकी हजुरआमा बितेको ६ वर्ष भइसकेको छ तर उनकी हजुरआमाको नाममा कृषि ज्ञान केन्द्र झापामा हस्ताक्षर भएर अनुदान रकम निकासा भएको देखिन्छ । तर उक्त परिवारले त्यो अनुदान रक मभने अहिलेसम्म पाएको छैन । २०७१ सालमा निधन भएकी हजुरआमा मनमायाँ न्यौपानेकी नाममा रहेको धनीपूर्जा पेश गर्दै कीर्ते सहीछाप गरी आफुलाई जानकारी नगराई रकम निकासा गरेको न्यौपानेले बताए ।

औजार : आजको औजार दैनिकमा “बाइपास हुने भो मदन भण्डारी राजमार्ग” शीर्षकको समाचार छापिएको छ । धरानमा अत्याधिक विवादमा रहेको मदन भण्डारी राजमार्ग बजारबाट बाइपास हुने भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय ललिपुरले धरान उपमहानगरपालिकालाई पठाएको पत्रमा संलग्न गरेको गुगल म्याप अनुसार धरान १७ स्थित सर्दुखोलामा बनेको पुल भन्दा दक्षिण कालाबञ्जराबाट आएको सडक र चतराबाट आएको सडकको संगम विन्दुदेखि बस्तीको दक्षिणी भाग हुँदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिण–पूर्व सिमाना नजिकबाट हरियाली सामुदायिक वनको भवन, यलम्बर वनको भवन हुँदै तीनकुने पुगेको छ । तीनकुने श्रीजंगाको शालिक भएको स्थानबाट सिधै पूर्व धरान–पानबारी सडकको सेउती पूल हुँदै धरान पानवारी मेन रोडलाई मदन भण्डारी राजमार्गको नक्सा बनाइएको छ । मदन भण्डारी राजमार्ग धरान खण्डमा धनकुटे रोडहुँदै जान सक्ने भन्दै धरान उपमहानगरपालिकाले धनकुटे रोडको जग्गा रोक्का गरेको थियो । धनकुटे रोडबासीले भने मदन भण्डारी राजमार्ग बाइपास गर्नुपर्ने माग राख्दै आन्दोलित हुँदै आएका थिए । बजारमा धेरै घर भत्कने तथा क्षति हुने भन्दै राजमार्गलाई चारकोषे जंगल नजिकबाट लैजानुपर्ने धनकुटे रोडबासीको माग थियो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “विधुत अवरोधको मारमा उदयपुर सिमेन्ट” शीर्षकको समाचार छापिएको छ । ७ अर्ब २० करोड मुनाफा कमाएको सार्वजनिक गर्दै नेपाल विधुत प्राधिकरणले ३४ औं स्थापना दिवस मनाइरहँदा पूर्णसरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले भने विधुत् अवरोधकै कारण दैनिक लाखौं रुपैयाँ घाटा सहन बाध्य छ । विद्युतीय समस्याकै कारण महँगा महँगा र ठूल्ठूला मेसिन उपकरणमा क्षति बेहोर्दै आएको उसिउिलिले पछिल्लो समय पटक–पटक विद्युत् प्रवाहमा बाधा आउँदा दैनिक १० लाखसम्म घाटा सहनुपरेको हो । एसियाकै उत्कृष्ट प्रमाणित गैंडा छाप सिमेन्ट उत्पादक उद्योगले विद्युत् गडबढीले महँगा करोडौं क्षति बेहोर्दै आउनुपरेको निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “खेलाडी र परिवारलाई डेंगुको औषधी” शीर्षकको समाचार छापिएको छ । धरानमा व्यापक रुपमा देखापरेको डेंगु र भाइरल ज्वरोको प्रकोप नियन्त्रण नभई रहेको अवस्थामा सरोकारवाला शैक्षिक, खेलकुद लगायतका संस्थाहरुले संस्थागत पहल गर्न शुरु गरेका छन् । लामखुट्टेद्वारा सर्न सक्ने डेंगु र मौसमी भाइरल ज्वरोबाट विशेषत स्कुले बालबालिका खेलाडी लगायत समुहमा रहने व्यक्तिलाई कुनैपनि बेला संक्रमण हुनसक्ने भएकोले यसको रोकथाम तथा तत्कालै उपचारका लागि संस्थागत पहल जरुरी देखिएको हो । यसरी संस्थागत पहल गर्नेमा धरान १५ स्थित नवज्योति स्कुल पहिलो भएको छ । उक्त विद्यालयमा सितोरियो कराते प्रशिक्षण लिइरहेका बालबालिका खेलाडी तथा उनिहरुका अभिभावकहरुलाई बिहीबार विद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बिच निःशुल्क औषधी वितरण गरिएको हो ।