झापा : झापाका चार वटा स्थानीय तहले आज (शुक्रवार) सार्वजनिक बिदा दिएका छन् । कृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसर पारेर मेचीनगर नगरपालिका, गौरदाह नगरपालिका, गौरीगञ्ज गाउँपालिका र बुद्धशान्ति गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो ।

स्थानीय पर्वहरूमा आफ्नो पालिका भित्र स्थानीय बिदा दिने अधिकार कानुनले स्थानीय तहलाई नै दिएसँगै झापाका १५ वटा पालिकामध्ये चार वटाले सो अधिकार प्रयोग गरी बिदा दिएका हुन् ।
हिन्दुहरूको मुख्य पर्वमध्ये कृष्ण जन्माष्टमीका दिन स्थानीय बिदा दिने नगरपालिकाले निर्णय गरेको मेचीनगर नगरपालिका प्रमुखका स्वकीय सचिव विजय भट्टराईले जानकारी दिए । नगरपालिकामा बुधवार भएको छलफलबाट बिदा दिने निर्णय गरेको उनको भनाई छ । त्यस्तै गौरीगञ्ज गाउँपालिकामा बिहीबार बसेको बोर्ड बैठकले कृष्ण जन्माष्टमीमा स्थानीय बिदा दिने निर्णय गरेको छ । सो बिदाका बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले सूचना प्रकाशन गर्दै जानकारी गराएको हो ।

त्यसैगरी गौरादह नगरपालिकाले कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सूचना प्रकाशन गर्दै बिदाको बारेमा जानकारी गराएको हो । त्यस्तै बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार कँडेलले सूचना प्रकाशन गर्दै स्थानीय बिदाको बारेमा जानकारी गराएका थिए ।