औजार : आजको औजार दैनिकमा “उजुरी परेपछि वडा सचिव फरार” शीर्षकको समाचार छापिएको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–७ का वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध स्थानीय एक २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा मुद्दा दर्ता भएको हो । कट्वालविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “शिक्षकले पछार्दा विद्यार्थीको खुट्टा भाँचियो” शीर्षकको समाचार छापिएको छ । झापाको विर्तामोडमा सञ्चालित एभरेष्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट एकजना विद्यार्थीको खुट्टा भाँचिएको छ । विर्तामोड नगरपालिका वडानम्बर ६ मा सञ्चालित एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमीका शिक्षक पंकज प्रधानले कुटपिट गर्दा सोही विद्यालयमा अध्ययनरत विद्यार्थी कुनाल गट्टानीको खुट्टा भाँचिएकोहो । अर्जुनधारा नगरपालिका ८ का सिन गट्टानीका छोरा कुनाललाई शिक्षकले घाँटीमा समातेर बेञ्चमा पछार्दा खुट्टा भाचिएको पीडितले बताएका छन् । विहीबार तेस्रो घण्टि पढाउन शिक्षक प्रधान कक्षा कोठामा प्रवेश गरेका बेला केही विद्यार्थीले बाथरुमको धाराको पानी बोतलमा भरेर शिक्षकको पोडियममा राखिदिएका थिए । सो पानी शिक्षकले पिए । त्यसपछि विद्यार्थीहरु हाँस्न थाले । शिक्षकले हाँस्नुको कारण सोध्दा विद्यार्थीहरुले बाथरुमको पानी सरले खानु भयो भनेपछि उनी आक्रोसित भए । उनले नहाँस्न विद्यार्थीहरुलाई चेतावनी दिए । सबै विद्यार्थी पुनः हाँस्न थाले । तीमध्येबाट विद्यार्थी गट्टानीलाई अगाडि ल्याएर शिक्षक प्रधानले गालामा थप्पड हाने । त्यतिगर्दा पनि रिस नमरेपछि उनले घाँटीमा समातेर बेञ्चमा पछारेपछि विद्यार्थीको देब्रे खुट्टा भाँचिएको पीडित विद्यार्थीले बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “चाउचाउ खाएर बालिकाको मृत्यु भएको आशंका” शीर्षकको समाचार छापिएको छ । चाउचाउ खाएर धनुषामा एक बालिकको मृत्यु भएको छ । शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी धनुषाधाम नगरपालिका–३ तेजनगरकी ६ वर्षीया काजल साह बिहान मृत अवस्थामा भेटिएकी हुन् । आमा पवित्रि देवी, ६ वर्षीया छोरी काजल र उनका ४ वर्षीय छोरा राकेश चाउचाउ खाएर सुतेका थिए । शनिबार बिहान बालिका मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताए । चाउचाउ आएका आमा र छोरा सिकिस्त अवस्थामा फेला परेपछि अस्पताल भर्ना गरिएको प्रहरी निरीक्षक थापाले बताए । आमा छोरोको स्थानीय पपुलर अस्पतालमा उपचार भईरहेको छ । अस्पताल भर्ना भएकी आमा र छोरालाई फुड प्वाइजन भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको उनले जानकारी दिए । चाउचाउ खाएकी आमा र छोरालाई फुड प्वाइजन भएको कारण चाउचाउकै कारण काजलको मृत्यु हुन सक्ने अनुमान गरिएपनि पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । मृतक बालिकाको घरबाट ज्याकपोट लेखिएको चाउचाउको प्याकेट प्रहरीले बरामद गरेको छ । बालिकाको मृत्यु र एकै परिवारका २ जना सिकिस्त हुँदा थप विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ । यता प्रहरीले स्थानीय पसलहरुबाट परीक्षणका लागि चाउचाउको नमूना संकलन गरेको छ । बालिकाको मृत्यु भएको कारण बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नयाव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “लागुऔषधविरुद्ध “म अघि बढ्छु” अभियान” शीर्षकको समाचार छापिएको छ । सोच्ने क्षमतालाई शुन्य बनाउने लागूऔषध नियन्त्रण एवं रोकथाम गर्न प्रदेश सरकारले महत्वपूर्ण अभियान सञ्चालन गरेको छ । सगरमाथा टिन्स क्लबमार्फत “म अघि बढ्छु” अभियान खासगरी प्रदेशका २ हजार विद्यालयमा कार्यक्रम सञ्चालन गरी दुई लाख विद्यार्थीलाई यसका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको छ । प्रदेशभरिमा लगभग २० हजार युवायुवती लागूऔषधमा नराम्रोसँग फसेका छन् । यसको सेवनले सेवन कर्तामात्र होइन परिवारजन र समाजमा पनि भयावह स्थिति सिर्जना गर्दछ । शरीर गलाउने, विकृति र विसङ्गतिको बाटोमा लैजाने प्रेरित गर्ने, झगडालु स्वभाव हुने र एकाग्र देखिने युवा युवतीलाई सो अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकारले यो अभियान सञ्चालन गरेकोहो ।