ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “धनकुटामा वडाध्यक्षमाथि भ्रष्टाचारको आशङ्का” शीर्षकको समाचार छापिएको छ । धनकुटा नगरपालिका वडा नं. १० का वडाध्यक्ष कमल कार्कीमाथि वडाबासीले वडाको विकासको लागि आएको विभिन्न योजनाको बजेटमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् । उनीहरुले कार्की वडामा वडाध्यक्ष निर्वाचित भएदेखि नै सञ्चालन भएका विभिन्न योजनाहरुको बजेटमा भ्रष्टाचार गरेको भन्दै धनकुटा नगरपालिकामा निवेदन दिएको भएपनि सुनुवाई नभएको गुनासो गरेका छन् । उनीहरुले न्यायिक समितिमा गत असारको पहिलो हप्तामै निवेदन दिए पनि अहिलेसम्म सुनुवाई नभएपछि सञ्चार माध्यमहरुलाई विकल्पको रुपमा खोजिएको वडाबासी ईश्वर बस्नेतले बताए । उनले वडाध्यक्ष कार्कीले आव ०७४,७५ र ०७५,७६ दुवै आर्थिक वर्षमा सञ्चालित वडाका योजना तथा कार्यक्रहरुमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न शिक्षकको परीक्षा” शीर्षकको समाचार छापिएको छ । बेलबारी नगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठनको गुणस्तर बढाउनका लागि नयाँ रणनीति अपनाएको छ । कार्य सम्पादन गर्नका लागि विद्यालय तथा शिक्षकबीच प्रतिष्पर्धा गराईने भएको छ । नगरपालिकाले १२ शीर्षकमा ८८ वटा सूचक तयार पारेर विद्यालयका प्रधानाध्यापकसँग सम्झौता नै गरेको छ । सो सम्झौतामा २ सय ६४ पूणांङ्क दिइएको छ भने विद्यालयका प्रधानाध्यापकहरुले ७० देखि ८० प्रतिशत अंक ल्याउने भनेर सम्झौता गरेका छन् । सामुदायिक विद्यालयमा शिक्षक तथा विद्यालयबीचको प्रतिष्पर्धा गराई उनीहरुले गरेको कामको मूल्याङ्कनका आधारमा अंक दिइने जनाएको छ । प्रअ तथा शिक्षकहरुको नामसहित कार्य सम्पादन मूल्याङ्नमा आएको प्रतिशत अभिभावकले देख्ने गरी टाँसिने नगरपालिकाको शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाले बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “एघार वर्षदेखि थन्कियो रक्तचन्दन” शीर्षकको समाचार छापिएको छ । ताप्लेजुङमा करिब ११ वर्षअघिदेखि थन्किएको रक्तचन्दन अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन । भारतबाट नेपाल भित्र्याएर चीनतर्फ अवैध रुपमा चोरी निकासी हुने क्रममा आजभन्दा ११ वर्षअघि प्रहरीले जफत गरेको रक्तचन्दन थन्किएको हो । त्यसबेला ताप्लेजुङ हुँदै चीनको तिब्बततिर अवैध निकासीको क्रममा विभिन्न समयमा प्रहरीले जफत गरेको दुईहजार केजीभन्दा बढी रक्तचन्दन डिभिजन वन कार्यालयको एक गोदाममा थन्किएको हो । अहिलेसम्म एकैठाउँ गोदाममा थन्क्याएर राखेका कारण भण्डारण गरी राखिएकै ठाउँमा रक्तचन्दन सडिने अवस्थामा पुगेको छ । सदरमुकाम फुङलिङनजिक दोखु क्षेत्रबाट अवैध निकासी हुने क्रममा प्रहरीले कुल २ हजार २१५ किलोग्राम रक्तचन्दन बरामद गरेको थियो । प्रहरीले बरामद गरेको उक्त परिणामको रक्तचन्दन तत्कालिन जिल्ला वन कार्यालय ताप्लेजुङलाई बुझाएको थियो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “भवन भत्किए ठेकेदारलाई जरिवाना” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को प्रदेशसभाबाट पारित हुन लागेको भवन निर्माणसम्बन्धी एउटा विधेयकमा कुनै पनि भवन निर्माण गर्दा त्यो भवन बनाउने ठेकेदारको लापारबाहीबाट हुने दुर्घटना र त्यसबाट हुने क्षतिको क्षतिपूर्ति सम्बन्धित ठेकेदारबाटै भराउने व्यवस्थ ागर्न प्रस्ताव गरिएको छ । यस्तो व्यवस्था भवन निर्माण कार्यमा संलग्न हुने ठेकेदार र निर्माण व्यवसायीको लापरबाही रोक्नका लागि गरिएको प्रदेशसभाको प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवाले बताए । आइतबार बसेको प्रदेशसभा बैठकमा सो विधेयकमाथि परेको संसोधन र त्यसमाथिको दफावार छलफलपछि तयार पारिएको प्रतिवेदनमा प्रस्तुत गर्दै सभापति साँवाले दोषी ठेकेदारलाई जरिवाना र क्ष्तिपूर्ति भराउने व्यवस्था गरिएको बताए ।