ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “डेढ करोडको खानेपानी ट्याङ्की हस्तान्तरणपूर्व नै चुहियो” शीर्षकको समाचार छापिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीले निर्माण गराएको खानेपानी ट्याङ्की हस्तान्तरण अगावै जीर्ण बनेको छ । इनरुवा नगरपालिकाको वडा नम्बर ५ देवेन्द्र चौकनजिकै निर्माण गरिएको खानेपानीको ट्याङकी पूर्णरुपमा सञ्चालनमा नआउदै चुहिन थालेको छ । ४ सय ५० घनमिटर ओभरहेड ट्याङ्की निर्माणका लागि माङ्सुवा साह जेभी इनरुवालाई २०७३ साल वैशाख २४ गते खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीले निर्माण कम्पनी माङ्सुवा साह जेभी इनरुवालाई कार्यादेश दिएको थियो । डिभिजन कार्यालय इटहरी अन्तर्गत सञ्चालित इनरुवा खानेपानी आयोजनाको ठेक्का नम्बर ५–०७२,७३ अनुसार ट्याङ्की निर्माणको समयसीमा २०७४ कात्तिक २३ गतेसम्म रहने गरी निर्माण कम्पनीलाई कार्यादेश दिएको देखिन्छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “पर्यटन विकासमा योगेश भट्टराईका १४१ घोषणा” शीर्षकको समाचार छापिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने, ज्येष्ठन नागरिकलाई हवाई यातायातमा ५० प्रतिशत छुट दिने लगायत केही महत्वाकांक्षी यो जवनासहित आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयो जित पत्रकार सम्मेलनमा उनले चालु आर्थिक वर्यमा मन्त्रालय र यस अन्तर्गतका निकायबाट हुने कामको सूची सार्वजनिक गरेका हुन । उनले पशुपतिनाथको मन्दिरको आरती युट्युबबाट लाइभ गर्ने योजना पनि सुनाएका छन् । मन्त्री भट्टराईले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग हुने गरी कार्यक्रम घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान सञ्चालन तथा विदेशस्थित नेपाली नियोगमा यस संस्थाको सहभागितामा टुरिस्ट हेल्प डेस्क सञ्चालन गर्ने लगायतका पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम वर्ष २०२० को सचिवालय र गैर आवासीय नेपाली संघबीच समझदारी नै गर्ने घोषणा गरेका छन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “तीन महिनाअगाडि नै उपनिर्वाचन चहलपहल” शीर्षकको समाचार छापिएको छ । उपनिवाएचनका लागि तोकिएको मितिभन्दा तीन महिनाअघि नै पाँचथरका स्थानीय तहमा राजनीतिक दलले चहलपहल बढाएका छन् । राजनीतिक दलको चहलपहल बढेसँगै मतदातामा पनि चासो र चर्चा बढेपछि निर्वाचनको माहोल बन्न थालेको छ । यहाका तीन स्थानमा उपनिर्वाचन हुदै छ । फाल्गुनन्द गाउँपालिकाका प्रमुख, फिदिम नगरपालिका १ का वडाध्यक्ष र हिलिहाङ ७ का वडाध्यक्ष पदमा निर्वाचन हुदैछ ।