धरान: विप्लव नेतृत्वको नेकपा माओवादी परित्याग गरेका किरण राई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय सदस्य भएका छन् ।

उनलाई हिजो सोमबार नेकपा अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको हो । केन्द्रीय सदस्यमा मनोनित भएसँगै राईलाई बधाई दिनेहरुको ओइरो छ । हाल धरान १५ निवासी नेता राई तत्कालिन एमाओवादी केन्द्रबाट २०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट विजयीसमेत भएका थिए । उक्त निर्वाचनमा उनले धरानका पुर्वमेयर तथा एमालेका उम्मेद्वार मनोजकुमार मेन्याङ्बोलाई विशाल मतान्तरले हराएका थिए ।

माओवादी केन्द्रमा विभाजन भएसँगै उनी मोहन बैध किरण हुदै नेत्रबिक्रम चन्द्र बिप्लव नेतृत्वको पार्टीमा पुगेका थिए । उनी वैध र विप्लव नेतृत्वको पार्टीमा पनि केन्द्रीय सदस्य थिए । पछिल्लो समय विप्लव नेतृत्वको पार्टीले सर्वसाधारण जनताको ज्यान जाने गरी हिंसात्मक गतिविधि गर्न थालेपछि भने उनी निष्क्रिय बसेका थिए । केन्द्रीय सदस्यमा मनोनित भएसँगै सत्तारुढ पार्टीको केन्द्रमा पहुँच पुग्ने धरानका नेतृत्वकोरुपमा स्थापित हुने अवसर उनले पाएका छन् । उनी हालसम्म कुनै पनि विवादमा नपरेका, त्यागी नेताकोरुपमा नेता, कार्यकर्ताहरुले लिने गरेका छन् ।

पुर्वमाओवादी बिग्रेड कमाण्डर हुन्

kiran

नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएका किरण राई जनयुद्धकालमा बिग्रेड कमाण्डर थिए । उनीसँग ३ दर्जन बढी युद्धमा प्रत्यक्ष सहभागी भएको अनुभव छ । २०५४ सालमा धरानमा पक्राउ परेका राईलाई राज्य विरुद्धको अभियोग लगाएर लगातार ४० महिना सुनसरी र भोजपुरको जेलमा राखिएको थियो । 'म बिग्रेड कमाण्डर पनि भएँ, युद्धको थुप्रै मोर्चामा सहभागी भए । ३ दर्जन बढी युद्धको मोर्चामा संलग्न भएको छुँ,'नेता राईले कपुरीन्यूजसँग भने । 

उनकी पत्नी पनि उनीसँगै जनयुद्धमा होमिएका थिए । हाल उनको पत्नीको निधन भइसकेको छ भने एक छोरा छ । उनको राजनीतिक जीवन २०४६ सालको जनआन्दोलन बेलादेखि नै शुरु भएको थियो । २०४७ सालमा विद्यार्थीको जिल्ला कमिटिमा रहेका उनी २०५२ सालदेखि अर्धभुमिगत हुदै पुर्णरुपमा जनयुद्धमा होमिएका थिए । शान्ति प्रक्रियासँगै जनसेना क्यान्टोनमेन्टमा राखिएपछि भने उनलाई पार्टीले वाइसिएलको कोशी इञ्चार्ज बनाएर बाहिर निकालेको थियो भने २०६४ सालको संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा उम्मेदवार बनेर जित हासिल गरेका थिए । kiran-xora