धरान:बिभिन्न कम्पनी तथा सपिङ मलमा रोजगारी लगाईदिने प्रलोभन देखाएर ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानले सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका ५ कुशाहाका २९ बर्षीय महम्मद सरिफ मिँयालाई पक्राउ गरेको हो । मिँयाविरुद्ध धरान प्रहरीमा उजुरी परेको थियो । प्रहरीका अनुसार मियाँले बिभिन्न शहरमा बिभिन्न ब्यक्तिहरुसँग चिनजान गर्ने र फोन सम्पर्क गरेर कम्पनी, सपिङ मलमा रोजगारी लगाइदिने प्रलोभन दिने गरेका थिए ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार मियाँले रोजगारी लगाई दिए बापत १३ देखी १५ हजारसम्म शुल्क लाग्ने भन्दै आई.एम.इ. गर्न लगाएर ठगी गरेका थिए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा ३ जना पीडितले उजुरी दिएको डिएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए । उजुरी परेपछि मिँयालाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरेर सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमती लिई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए । 'अन्य ब्यक्तीहरुलाई समेत ठगी गरेको हुन सक्ने भएकोले ठगीमा पर्ने अन्य ब्यक्तिहरु सम्पर्कमा आउन अनुरोध छ,'डिएसपी न्यौपानेले भने ।