धरान: धरानमा झण्डै चार महिनादेखि प्रकोपकोरुपमा फैलिएको डेंगु नियन्त्रणमा आउन नसकेको बेला संघीय स्वास्थ्य मन्त्री उपेन्द्र यादवका प्रमुख सल्लाहकार डा.के. के. राई धरान आएका छन् ।

धरान आएका राईले डेंगुको बिषयमा विभिन्न निकायहरुमा पुगेर जानकारी लिने र छलफल गरेका छन् । उनले दिउँसो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निमित्त उपकुलपति डा.गुरु खनालसहित र्यापिण्ड रेस्पोन्स टिमसँग छलफल गरेको थियो । त्यसपछि उनले उपमहातगरपालिकामा पनि पुगेर छलफल गरेको थिए । डा.राईले डेंगु नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेर नै नियन्त्रणमा आउन नसकेको बताए । उनले डेंगु नियन्त्रण गर्न सर्च एण्ड डिष्ट्रोय नै सबैभन्दा प्रभावकारी उपाय भएकोले प्रत्येक घरमा यो अभियान हुनुपर्ने सुझाव दिए ।

डा. राईले सर्च एण्ड डिष्ट्रोय कार्य गर्न सुझाव दिदा उपमहानगरपालिकामा भएको छलफलमा सहभागीहरुले भने असन्तुष्टीसमेत जनाए । सहभागीहरुले संघीय सरकारका उच्च पदस्थ व्यक्तिहरु डेंगु नियन्त्रणको कुनै नयाँ योजना तथा रणनीति विना नै आएको भन्दै आलोचना गरे । केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका माइक्रोवायोलोजी विभागीय प्रमुख धिरेन लिम्बूले धरानले अपनाइसकेको सर्च एण्ड डिष्ट्रोय अभियानबारे मात्र छलफल गर्न आउनु दुःखद पक्ष भएको बताए । ‘त्यो त धरानले लागु गरेकै हो, संघीय मन्त्रालयको टोली आएको भनेपछि केही नयाँ योजना, रणनीति होला कि भनेको त केही भेटिएन,’उनले भने,‘अनुगमन र छलफल गर्न आउने, बजेट पचाउने मेलो गरेजस्तै भयो ।’

र्यापिड रेस्पोन्स टिमका संयोजक डा.विजय खनालले सर्च एण्ड डिष्ट्रोय अभियान वृहतरुपमा गरिएको तर सर्वसाधारणहरुले पुर्णरुपमा आफ्नो घरमा लागु नगरिदिएको कारण समया भएको बताए । उनले सबैले आफ्नो व्यहारमा परिवर्तन गरेर सचेत तरिकाले जम्मा भएको पानी फाले माात्र पनि डेंगु नियन्त्रणमा आउने बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले डेंगु नियन्त्रणबारे भाषण, छलफल र सर्वे धेरै भएको भन्दै माथिल्लो निकायबाट आवश्यक आर्थिक, प्राविधिक र जनशक्ति सहयोग नभएको गुनासो गरे ।