झापा : प्रधानमन्त्रीको गृहनगर झापाको दमकमा व्यवसायीको निर्वाचनले बजार तताएको छ । आसन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनले यतिबेला दमक तताएको छ । तर धमाधम उम्मेद्वारी घोषणा गरेसँगै प्रधानमन्त्रीको गृहनगरमा पार्टीभित्रै असन्तुष्टिका स्वरहरु सुनिन थालेको छ । दमक उद्योग वाणिज्य संघको निर्वाचनमा उपयुक्त उम्मेद्वार छनोट हुन नसकेको भन्दै नेकपा निकटका व्यवसायीहरु धमाधम स्वतन्त्र उम्मेद्वार घोषणा गर्न थालेका छन् ।

नेकपाबाट असन्तुष्ट व्यवसायीहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका हुन् । उम्मेदवार छनौट प्रति तीव्र असन्तुष्टि जनाउदैं बुधबारसम्म दुई जनाले स्वतन्त्र उम्मेदवार वन्ने घोषणा गरेका छन् । दमकमा १२ बर्षदेखि रेडिमेड तथा फेन्सी स्टोर सञ्चालन गर्दै आएकी महिला व्यवसायी कविता पौडेल (अधिकारी)ले संघको महिला सदस्य पदमा उम्मेद्वारी घोषणा गरेकी छिन् । आज संगम स्वीट्सको सभाकक्षमा पत्रकार सम्मेलन गरेर उनले स्वतन्त्र आम व्यवसायी तथा आफैमाथि न्यायका लागि पनि स्वतन्त्र उम्मेद्वार बन्नुपर्ने अवस्था आएको बताइन् ।
कविताले भनिन– पार्टीकै जिम्मेवार नेताहरुले पहिला उम्मेद्वारका लागि फर्म भर्नु भने अहिले आएर नेताहरुले नै उम्मेद्वार हुन नपाउने भने पनि मैंले मेरो स्वतन्त्रताको उपयोग गरेर उम्मेद्वार बन्ने निधो गरेँ ।

प्रसाइँ गए व्यवसायी माझ

यसअघि दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य टिका प्रसाईले पनि उम्मेदवार छनौटमा केही पार्टी नेताहरुले आफूलाई अन्याय गरेको भन्दै स्वतन्त्र उम्मेद्वारी घोषणा गरेर व्यवसायीहरु माझ मत माग्न व्यस्त छन् । उनले आसन्न निर्वाचनमा द्धितीय उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

विद्रोहीलाई अवसरै अवसर

३ बर्ष अघि भएको वाणिज्य संघको निर्वाचनमा समेत तत्कालिन नेकपा एमालेबाट असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेद्वार बनेका मध्ये राजेन्द्र ढकाल, विमल खतिवडा र युवराज घिमिरे चुनाव जितेर पार्टीमा पुर्नस्थापित भईसकेका कारण पनि पार्टी निकटका व्यवसायीहरु स्वतन्त्र उम्मेद्वारीका लागि तयार रहेका विश्लेषण हुन थालेको छ ।
त्यस बेला विद्रोह गरेका मध्येकै खतिवडा र घिमिरे अहिले क्रमश नेकपा निकटका व्यवसायीका तर्फबाट क्रमश अध्यक्ष र प्रथम उपाध्यक्षमा उम्मेद्वार बनेका छन् ।

को हुन उपाध्यक्षका उम्मेद्वार प्रसाइँ ?
झापा दमकको व्यवसायिक, खेलकुद तथा सामाजिक क्षेत्रमा स्थापित नाम हो टिकाराम प्रसाइँ । दमक २ का बासिन्दा प्रसाइँको जन्म विसं २०२५ असार १ गते तेह्रथुमको इवा गाविसमा बुबा गंगा प्रसाद प्रसाइँ र आमा जमुनादेवी प्रसाइँको कोखबाट भएको हो । प्रसाइँले प्रारम्भिक शिक्षा तेह्रथुमकै पोखरी माविबाट लिएका हुन् । उनले एसएलसी भने दमकको हिमाविबाट उत्तिर्ण गरेका हुन् । २०३७ सालदेखि दमकमा बसेर २०४४ सालदेखि रेडिमेड व्यवसाय शुरु गरेका उनले २०४८ देखि काठमाडौंमा पर्यटन व्यवसायीका रुपमा व्यवसाय सञ्चालन गरे । पारिवारिक कारणले २०६५ देखि पुन दमकनै फर्किएर निरन्तर रेडिमेड व्यवसायीका रुपमा व्यवसायमा संलग्न उनको राजनीतिक जिवन विद्यार्थी कालबाटै २०३८ सालमा शुरु भएको हो ।
भने २०५२ सालदेखि नेकपा एमालेको संगठित सदस्यता लिएका हुन् । उनी तत्कालिन अखिलमा छँदा काठमाडौं जिल्ला सचिव समेत भए । दमकको बसाइ संगै वडा नं २ मा पार्टीको वडा कमिटी अध्यक्ष दुई कार्यकाल सम्म चलाएका उनी अहिले नेकपाको वडा कमिटी सदस्य छन् ।

सामाजिक रुपमा समेत उनी गोरखा स्पोर्टिङ क्लबको सहसचिव , कन्काई धाम धार्मिक विकास संस्थाको निर्वाचित सदस्य, अखिल नेपाल फुटबल संघ एन्फाको जिल्ला सदस्यका रुपमा रहेर जिम्मेवारी निर्वाह गरेका छन भने राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाको पूर्व कार्य समिति सदस्य , प्रसाइँ ट्रष्ट कल्याणकारी कोषको झापा जिल्ला अध्यक्ष र दमकस्थित अनाथ बाल बृद्ध आश्रमको निर्माण समिति सचिव पनि हुन् । पछिल्लो समय ३ बर्ष अघि दमक उद्योग वाणिज्य संघको कार्य समिति सदस्यमा पार्टीको आधिकारिक लाइनबाट उम्मेद्वार बनेर निर्वाचित भएका उनले संघ मातहतको बजार व्यवस्थापन समिति संयोजकको रुपमा समेत जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

दमक ६ स्थित सिद्धी मार्केटका सञ्चालक समिति सदस्य समेत रहेका उनी अहिले सत्तारुढ नेकपा निकटका व्यवसायीहरुका तर्फबाट संघको प्रथम उपाध्यक्षका लागि बलियो दाबेदारका रुपमा रहेका थिए । तर पार्टीले उचित निर्णय लिन नसकेको ठहर गर्दै उनले व्यवसायीहरुको सुझावलाई समेत आधार मानेर द्धितीय उपाध्यक्षमा उम्मेद्वारी दिएको बताएका छन् ।