जनकपुरधाम : मोटरसाइकल चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने भन्दै ठगी गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–११ का २५ वर्षीय जितेन्द्र यादव र महोत्तरीको महोत्तरी गाउँपालिका–२ का २८ वर्षीय पंकजकुमार सिंह छन् ।  यादवले जनकपुरधाम उपमहानगरपालिका–८ स्थित ज्ञानकुप संस्कृत उच्च माविको फिल्डमा मोटरसाइकलको चालक अनुमतीपत्रका लागि भइरहेको ट्रायल परीक्षामा पास गराइदिन्छु भनी दुई सेवाग्राहीबाट रकम लिएको प्रहरीले जनाएको छ । उनले धनुषाको मिथिला नगरपालिका–६ का देवेन्द्रप्रसाद यादवसँग पाँच हजार र सवैला नगरपालिका–१० का अरुणकुमार पन्जियारसँग सात हजार रुपैयाँ लिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार यादवलाई पक्राउ गर्दा उनले विभिन्न व्यक्तिको लाइसेन्स बनाइदिन महोत्तरी गाउँपालिका–२ का २८ वर्षीय पंकजकुमार सिंहलाई एक लाख ५१ हजारको एनआइसी एसिया बैंकको चेक दिएको खुलेको छ । यादवको वयानको आधारमा सिंहलाई समेत पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।  प्रहरीले यादब र सिंहमाथि ठगी मुद्दा चलाएको जनाएको छ । उनीहरु जनकपुर यातायात कार्यालयमा बसेर दलालको गर्दै आएका थिए ।