धरान: सुनसरी उद्योग वाणिज्य संघले आप्mनो ५६ औं वार्षिकोत्सवको अवसरमा बुधबार उपभोक्ता सचेतना कार्यक्रम आयोजना गरेको छ ।

सुनसरी उवा संघको हलमा आयोजित कार्यक्रममा उपभोक्ताले के कस्ता खाद्य सामाग्रीहरु प्रयोग गर्ने तथा बजारमा रंग प्रयोग गरिएका खानेकुराहरु किन खान नहुने भन्ने जस्ता विषयमा प्रष्ट्याईएको थियो । संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्जका पोषणविद टंक भट्टराईले सुगर रोग लाग्न नदिन क–कस्ता उपायहरु अपनाउनु पर्छ भन्ने विषयमा जानकारी गराएका थिए ।

प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले बार्षिकोत्सवमा संघले व्यापारीहरुको हितमा मात्र नभई उपभोक्ताहरुको हितको लागि पनि कार्यक्रम आयोजना गरिएको बताए । खाद्य प्रविधि तथा गुण डिभिजन नियन्त्रण कार्यालय, इनरुवाको सहयोगमा भएको कार्यक्रममा डिभिजन कार्यालयका खाद्य निरीक्षक विक्रम लिम्बू र पोषणविद् टंक भट्टराईले सहजीकरण गरेका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका निमित्त कार्यवाहक मेयर नरेश इवाराम प्रमुख अतिथि रहेका थिए ।

संघका महासचिव राजेश अग्रवालका अनुसार वार्षिकोत्सवको अवसरमा बिहिबार आन्तरिक राजस्व कार्यालयको सहयोगमा करदाता शिक्षा कार्यक्रम हुनेछ भने भदौ १३ गते ५६ औं वार्षिकोत्सव कार्यक्रम हुनेछ । संघका निवर्तमान अध्यक्ष राजेन्द्र शाहले स्वागत गरेको कार्यक्रममा एक सय बढीको सहभागिता रहेको सदस्य विष्णु वरालले जानकारी दिए ।