काठमाडौं: नेपालमा १५ बर्षअघि चितवन जिल्लामा डेंगु देखा परेको थियो । यसरी डेंगु देखा पर्नुलाई जलवायु परिर्वतनको प्रभाव भएको विज्ञहरुको भनाई छ ।

चितवनमा देखा परेको त्यही डेंगु अहिले कर्णाली प्रदेशबाहेकका ६ वटाको ४२ जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय गत बैशाख अन्तिम साता डेंगु धरानमा देखा परेको थियो । अहिले विभिन्न जिल्लामा पनि देखा परिसकेको छ । डेंगुबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाण्डौंमा स्वास्थ्य प्रणालीमा सुधार विषय अन्तरक्रियामा आयोजना गरेको थियो । मन्त्रालयले जलवायु परिर्वतनबाट उत्पन्न स्वास्थ्य समस्या, सम्बोधन र भविष्यमा अपनाउनुपर्ने रणनीतिलगायत विषयमा सरोकारवाला पक्षसँग छलफल गरेको जनाएको छ ।

उक्त कार्यक्रममा स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले जलवायु परिर्वतनको कारण नयाँ–नयाँ रोगहरुको प्रकोप बढ्दै गएको बताए । श्रेष्ठका अनुसार सन् २००० यता २१ वटा नयाँ रोगहरु देखा परेको छ । जलवायुकै प्रभावका कारण सीमित मुलुकमा देखिदै आएको डेंगु पछिल्लो ८/१० बर्षमा विश्वका २५/३० वटा मुलुकमा पुगेको उनको भनाई थियो । जलवायु परिर्वतनका कारण मानवीय स्वास्थ्यमा गम्भीर समस्या देखिने क्रम बढेको उनले बताए । उनले भने,'यसको प्रभाव न्यूनीकरण गर्ने उपायबारे सबै क्षेत्र र वर्गबाट पहल गर्नुपर्ने आवश्यकता छ ।' नेपालमा सन् २००४ मा चितवनमा डेंगु देखा परेको थियो । यो समस्या अहिले ६ वटा प्रदेशका ४२ जिल्लामा पुगेको छ । यस्तै, कालाजोर र औलोको समस्या पनि पुनः देखा परेकोले समयमै ध्यान पुर्‍याउन श्रेष्ठले जोडदिए ।