काठमाडौं : नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ ।

तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाडौंमा आएका छन् । महाराजगञ्जस्थित विशेष बाहिनी लक्ष्मी निवासमा सुरु भएको तालिममा नेपाली सेनाका तर्फबाट पनि महासेनानी नेतृत्वमा विशेष फोर्समा २२ सैनिक सहभागी छन् । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नगरकोट र महाराजगञ्जमा गरी यो तालिम दुई सातासम्म सञ्चालन हुनेछ । तालिममा प्राकृतिक विपद् व्यवस्थापन र प्रतिआतंकवाद सम्बन्धी अभ्यास हुने जनाइएको छ । तालिम पर्यवेक्षणका लागि २० गते अर्को चिनियाँ टोली काठमाडौं आउने सेनाले जनाएको छ । -नागरिक दैनिकबाट