झापा : झापाको कमल गाउपालिका ३ केर्खामा प्लास्टिकका सामाग्री र कार्पेट बिक्रि गर्दै आएका मुक्तीनाथ काफ्लेको व्यवसाय राम्रै चलिरहेको छ । तर उनलाई अहिले पशलनै बेच्नुपर्ला जस्तो भईरहेको छ । उनीजस्तै सोही बजारमा स्टार फोटो स्टुडियो सञ्चालन गर्दै आएका चन्द्र फागोपनि केर्खा बजारनै छाडेर जानुजस्तै भईरहेको बताउँछन् । केर्खाको पूर्व बस स्ट्याण्डको अगाडीपट्टी भण्डारी एग्रोभेट सञ्चालन गर्दै आएकी स्थानीय यसोदा भण्डारीलाई त आजकल पशलमा बस्दापनि श्वासप्रश्वास सम्बन्धी रोग लाग्ला कि भनेर माक्स लगाएरै बसिरहेको भेटिन्छ । यि त झापा कमल गाउपालिका ३ केर्खामा व्यवसाय गर्दै आएका केही प्रतिनिधीमुलक व्यवसायी मात्र हुन् ।

काफ्ले, फागो र भण्डारी जस्तै अरु व्यवसायी र स्थानीयको एउटै समस्या छ जसका कारण केर्खा बजारनै छाडेर कतै हिडिहालौं कि जस्तो अनुभूति हुनलाई । यसको एउटै कारण हो बजारबाट निस्किएको फोहोर व्यवस्थापनमा गरिएको लापरबाही । फोहोर व्यवस्थापन गर्ने भन्दै बजार नजिकै फोहोर फाल्ने र डडाउने गर्दा त्याँहाबाट निस्किएको दुर्गन्धका कारण सबैलाई हैरान पारेको छ ।
झापाको कमल गाउँपालिकाको केर्खाबजारबाट निस्किएको फोहोर बजार उत्तर रहेको रतुवामाई वृक्षारोपण आयोजनाको हाता भित्र फालेका कारण त्यहाँबाट निस्किएको दुर्गन्ध र धुवाँका कारण बजारबासीलाई समस्या हुने गरेको छ । फोहोरको डंगुरबाट निस्किएको दुर्गन्ध र धुवाँका कारण आफुमात्र होईन बजारबासीनै हैरान बनेको स्थानीय व्यवसायी मुक्तिनाथ काफ्ले बताउँछन् ।
फोहोरलाई केर्खा बजार व्यवस्थापन समिति र कमल गाउँपालिका मिलेर तुरुन्तै व्यवस्थापन गर्नुपर्ने अर्का व्यवसायी चन्द्र फागोको माग छ ।
यस्तै बजारबाट निस्किएको फोहोर राम्रोसंग व्यवस्थापन गर्न नसक्दा वातावरणमा असर पुगेको रतुवामाई वृक्षारोपण आयोजनाका प्रमुख खेमलाल विश्वकर्मा बताउँछन् ।
बजार उत्तर रहेको आयोजनाको क्षेत्रमा पार्क बनाउने केर्खा बजार व्यवस्थापन समिति र कमल गाउँपालिकासंग सहमति भएपनि पछिल्लो समय पार्ककै छेउमा फोहोर फालेकोले सहमति उलङ्घन भयो भने केर्खा बजारबासीलाई फेरी फोहोरसगै बस्न बाध्य पारेको आयोजना प्रमुख विश्वकर्माको भनाई छ ।
बजारबाट निस्किएको फोहोरलाई समयमै व्यवस्थापन गर्न नसक्ने हो भने भविष्यमा यसले ठुलो समस्या निम्तयाउन सक्छ, त्यसैले समयमै यस विषयमा गाउँपालिकाले सोच्नुपर्ने बेला आएको कमल उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ भण्डारी बताउँछन् ।

तुरुन्तै एक्सनमा उत्रिन्छु : गापा प्रमुख काफ्ले

“फोहोर व्यवस्थापनका लागी गाउँपालिकाले ट्याक्टर समेत खरिद गरेको छ । कमल गाउँपालिका वडा नम्वर ५ स्थित रतुवा र चाँजुको विचमा खाडल खनेर फोहोरलाई व्यास्थापन गर्ने गरेको छौं । वर्षादका कारण त्यो ठाउँमा ट्याक्टर जान नसकेर ड्राईभरले केर्खा बजार उत्तर आयोजना क्षेत्रमा फोहोर फाल्ने गरेको रहेछ । मैले यस विषयमा ड्राईभरलाई भनि सकेको छ । अब त्यो ठाउँमा फोहोर फाल्न तुरुन्त बन्द गराउछु ।” कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भनिन् ।
बजारबाट निस्कने फोहोरलाई उपयुक्त ठाउँ खोजेर व्यवस्थापन गर्न आवश्यक छ । सड्ने र नसड्ने फोहोरलाई अलग अलग छुट्याएर व्यवस्थापन गर्नुपर्ने हुन्छ । कतिपय ठाउँमा फोहोरबाट मोहोर समेत बनाउन थालिसकेका छन् । यस्तो अवस्थामा सम्बन्धित निकायले यस प्रति अझै ध्यान दिन सकेको छैन ।