धरान: सुनसरी उद्योग वाणिज्य संघको ५६ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । संघको सभाहलमा प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव सम्पन्न भएको हो ।

समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले सुशासनको शत्रु गरिबी र भ्रष्टचार भएको धारणा व्यक्त गरे । सुशासन कायम गर्नको लागि गरिबी र भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोडदिदै भण्डारीले व्यक्तिमा इमान्दारिता, लगनशिलता, पारदर्शिता र नैतिकता भएमा मात्र कानुन पनि कार्यान्वयन हुनसक्ने बताए । धरानको विकास निर्माणबारे मन्तव्य राख्दै सभामुख भण्डारीले सुनसरी उद्योग वाणिज्य संघले पनि एकतासहितको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

धरानको समृद्धिको लागि धार्मिक पर्यटनको प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै सभामुख भण्डारीले यहाँको धार्मिक पर्यटकीयस्थलहरुको विकास एवं प्रर्वद्धनमा सबै चिन्तित हुन पनि आग्रह गरे । नमस्ते झरनालाई जस्तै धरान ४ स्थित शिवजट्टालाई पनि प्रर्वद्धन गर्नुपर्ने उनको भनाई थियो । साथै, धरानको छाती भएर बग्ने सर्दु र सेउती खोलालाई समयमै व्यवस्थापन गर्न पनि उनले सम्बन्धित निकायको ध्यानकर्षण गराएका थिए । धरानलाई हल्दिबारी, बक्लौरी, चक्रघट्टीलगायत क्षेत्रसँग जोड्न लिंकरोड निर्माण भइरहेको खुलाउदै भण्डारीले यी लिंकरोडहरुले धरानको विकास र समृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

udhog1 1

पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले उवा संघले व्यापारीहरुको लागि मात्र नभएर धरानको खानेपानी समस्याको समाधान तर्फपनि अघि सर्नुपर्ने बताएका थिए । संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले संघका पूर्वपदाधिकारीहरुले पनि खानेपानी आयोजनाबारे सक्रियरुपमा लागेको र अहिले खानेपानीको बिषय चुनावी एजेण्डा बन्नु दुःखद भएको बताए । संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको सो कार्यक्रममा थुप्रै उद्योगी, व्यापारीहरुको उपस्थिति रहेको संघका कार्यसमिति सदस्य विष्णु बरालले जानकारी दिए । तस्बिर स्रोत: विष्णु वराल