धरान: छाताचोकबाट पश्चिम जाने चतरालाइनको नामले चिनिएको बाटो ५० फिटको मापदण्डमा विस्तार हुने भएको छ ।

धरान १२ स्थित चतरालाईनको बाटो छाता चोकदेखि पश्चिम स्वास्तिका चोक सम्मको ५० फिट मापदण्डमा निर्माण हुने भएको हो । यो बाटो विस्तार गर्न स्थानीयबासी एवं उपभोक्ताहरुले मापदण्ड बराबरको जग्गा छोड्न सहमति जनाएका छन् । वडा कार्यालयको पहलमा आज भएको छलफलमा स्थानीयबासीहरुले सहमति जनाएका हुन् । छलफलमा शिव सिनेमा हलदेखि स्वास्तिका चोकसम्मका उपभोक्ताहरुको उपस्थिति रहेका थिए ।

वडा नं १२ का अध्यक्ष टंकबहादुर राईले वडाको पहलमा उपमहानगरपालिकाले नगर गौरवको आयोजनाअन्तरगत उक्त बाटो समेटेकोले स्थानीयबासीले पनि सहयोग गरेर जानुपर्ने आग्रह गरेका थिए ।स्थानीयबासी मोहन श्रेष्ठले ईतिहास बोकेको बाटो मात्र नभै यही बाटोमा नगर कार्यपालिकाको कार्यालय पर्ने र चतरा जाने बस स्टेण्ड पनि यही भएकोले चौडा सडक बनाउन आवश्यक भएको धारणा राखे । सडक विस्तार आजको आवश्यकता पनि भएकोले विकासका काममा बाधा अड्चन खडा नगरी सबैले सहयोग गर्नुपर्ने उनले बताए ।

chatara-line-xalfal

यो सडक विस्तार उपभोक्त समितिमार्फत नभै ठेक्का प्रक्रियाबाट नै निर्माण हुने र उपभोक्तहरुकाले लगानी गर्नु नपर्ने उपमहानगरपालिकाका योजना महाशाखा प्रमूख ईन्जिनियर सुरज श्रेष्ठले जानकारी गराए । बाटो निर्माणको लागि हाल १ करोड ५० लाख बजेट विनियोजन भएको र लागत स्टिमेट गरेपश्चात त्यसमा लाग्ने लागत बराबरको बजेट व्यवस्थापन गर्न सकिने उनले बताए । उभोक्ताबाट मापदण्ड क्लियर गर्न जति चाडो सहयोग भयो, त्यति चाडो निर्माण शुरु भएर आगामी आर्थिक बर्षसम्म सम्पन्न हुने उनको भनाई थियो ।

डा. भोला पोखरेलले धरानको पुरानो बाटो र राजधानी मार्ग भएकोले धेरै अगाडि नै विस्तार हुनुपर्ने धारणा राखे । उनले पनि स्थानीयबासीले अनुगमन र सहयोग गरेर नमुना सडक बनाउनुपर्ने भनाई राखे । प्राध्यापक हरिबहादुर विष्टले बाटो कसरी निर्माण हुने हो भन्ने सम्बन्धमा सवैलाई प्रष्ट जानकारी गराउनुपर्ने बताए । साथै उनले जग्गा सवैले छाड्ने सहमति भएपनि घरसमेत भत्काउनु पर्ने अवस्था भएकाहरुलाई भत्काउने खर्चको व्यवस्था गर्न सके राम्रो हुने सुझाव दिए ।

वर्षा यामका बाटो बनाउने गरेको र कमजोर निर्माणका कारण कालो पत्रेको चाडै बिग्रने गरेको भन्दै रामकुमार राईले यो बिषयमा सबै सचेत रहनु पर्ने बताए । छलफलले सहजीकरण र अनुगमन गर्नको लागि एउटा समिति पनि गठन गरेको छ । समितिमा हिरा रिजाल, भोला बराल, मोहन श्रेष्ठ, नेत्रकुमारी राई, मेहरमान ह्युज र रामकुमार राईलाई भेलाले छनौट गरेको छ । छाता चोकदेखि शिव शिनेमा हलसम्मको भेलाबाट बाँकी सदस्य छनौट गरी समितिलाई पूर्णता दिने वडा सचिव खगेन्द्र रोईलाले बताए । कार्यक्रममा वडा सदस्यहरु ब्रम्हज्ञ भट्टराई, चुनु थापा मगर, शान्ती त्रिखत्री तथा पालिका सदस्यहरु विनिता वज्रचार्य, किशोर परियार लगायतको बाक्लो सहभागितार रहेको थियो ।