धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रसारण लाइनको पुर्वाधार अभावमा निजी क्षेत्रले निर्माण गरिरहेको आयोजनाको विद्युत खेर जान नदिने बताएका छन् ।

पर्यटकीयस्थल भेडेटारमा शनिबार १३२ केभी सोलु करिडोर प्रसारण लाइनबारे आयोजित छलफलमा मुख्यमन्त्री राईले प्रसारण लाइनको निर्माणमा स्थानीयबाट अवरोध पुगे त्यसलाई हटाउन पहल गर्ने पनि बताए । उनले अबको तीन बर्षभित्र सबै घरमा विजुली पुग्ने पनि दाबी गरे । निर्माणाधिन प्रसारण लाइनको समस्याबारे विद्युत प्राधिकरण, आयोजना, प्रर्वद्धक र सांसदलगायतसँग छलफल भएको थियो ।आयोजनाका प्रर्वद्धकहरुले प्रसारण लाइन निर्माणमा ढिलाई हुँदा आयोजनाबाट उत्पादन भएको विद्युत खेर जान लागेको भन्दै प्रदेश सरकार गुहारे पछि यो छलफल भएको हो ।

छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी थिए । उनले प्राधिकरणले प्रसारण लाइन नबनाइदिएर अहिलेसम्म कही कतै विद्युत खेर गएको उदाहरण नभएको दाबी गर्दै आयोजना निर्माण सम्पन्न हुनुअघि नै प्रसारण लाइन तयार हुने बताए । उनले विद्युत खेर जान्छ भन्ने चासो र चिन्तालाई गम्भीरतापुर्वक लिएर काम गरिरहेको पनि बताए । उदयपुरको कटारीमा मरुवा हरित सामुदायिक वन क्षेत्रमा स्थानीयको अवरोध छ । त्यहाँ १२ वटा टावर निर्माण गर्नुपर्नेमा एक वर्षभन्दा बढी समयदेखि काम ठप्प छ । निर्देशक घिसिङले अवरोध हटाउन प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए ।

सोलु करिडोरको काम ७५ प्रतिशत पुरा भएको पनि प्राधिकरणले जानकारी दिएको छ । कार्यक्रममा सोलु करिडोरमा जोडिने गरी निर्माणाधिन अवस्थामा रहेको आयोजनाहरुको कार्य प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो । यो प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यसक्षेत्रका दर्जन जलविद्युत आयोजनासँग ३२५ मेघावाट विद्युत खरीद सम्झौता गरेको छ ।