धरान: नेकपाका प्रदेश कमिटि सदस्य अइन्द्र बिक्रम बेघाको मोटरसाइकललाई ठक्कर दिएर फरार भएका ट्याक्टर चालक को हुन् भन्ने अझै खुलेको छैन ।

ट्याक्टर धनी प्रहरीको सम्पर्कमा आए पनि चालक भने घटना भएदेखि नै फरार छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार ट्याक्टर धरान १७ निवासी मदन राई हो । ट्याक्टर धनी भेटिए पनि चालक भने फरार छन् । ट्याक्टर धनी राईलाई पनि चालकको नाम र ठेगाना पुरा थाह नभएको प्रहरीले जनाएको छ । 'चालकको घर धनकुटा हो भन्ने थाह भयो, तर ट्याक्टर धनीलाई नै पनि नाम थाह रहेनछ, खोजेर ल्याउनु भनेका छौं,'डिएसपी न्यौपानेले भने ।

हिजो मध्याह्न धरान १७ स्थित बिच घोपामा रेल्वेतर्फ जादै गरेको को १ त ३५७० नम्बरको ट्याक्टरले बेघाको मोटरसाइकललाई ठक्कर दिएको थियो । आफ्नै साइडमा रेल्वेबाट पुर्वतर्फ गइरहेको को ७ प ७६३३ नम्बरको बेघाकको मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदै किचे पनि बेघा भने जोगिएका थिए । उनलाई तत्काल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारार्थ लगिएको थियो । उनको खुट्टा, चिउडो, जीउलगायतमा चोट लागेको थियो । उपचार पश्चात बेघा घर फर्किएर आराम गरिरहेका छन् । ट्याक्टर र मोटरसाइकल दुवै प्रहरी चौकी रेल्वेको नियन्त्रणमा रहेको छ ।